Logo

भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग दिनेश भट्टको डिएनए मिल्यो, ‘बलात्कारपछि हत्या’ भएको प्रमाण



काठमाडौं, १२ चैत्र । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्ट नै दोषी रहेको बलियो तथ्य मिलेको प्रहरीले खुलाएको छ । दिनेशको डिएनएसँग मृतक भागरथीको भनाइजल स्वाबबाट निकालिएको डिएनए मिलेको प्रहरीले खुलाएको हो ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले अभियुक्त दिनेश भट्टको डिएनए भागरथी भट्टको भेजाइनल स्वाबबाट लिइएको डिएनएसँग मिलेको बताए । उनले भने,‘घटनामा दिनेश भट्ट नै संलग्न भएको बलियो तथ्य प्रमाण मिलेको छ ।’ उनले प्रमाण सरकारी वकिलको कार्यालयमा बुझाउने समेत बताए ।

घटनालाई ट्वीस्ट गर्न खोजिएको अवस्थामा तथ्य प्रमाणहरु अझ मिलेबाट दिनेश नै संलग्न हुन् भन्ने पुष्टि गर्ने आधार मिलेको बताए । उनले भने,‘दिनेशले बलात्कार र हत्या दुवै गरेको पुष्टि हुने तथ्यप्रमाण अझ बढी मिल्यो ।’ केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको खुलेको हो ।

यसअघि दिपायलस्थित सुधारगृहमा राखिएका दिनेशले बयान फेर्दै घटनामा आफू संलग्न नभएको दाबी गरेको विषय बाहिर आएको थियो । उनको परिवारले घटनामा अर्को व्यक्ति संलग्न रहेको र दिनेशलाई फसाइएको दाबी गरेको थियो ।

किशोर दिनेशले आफूले दिदी समानकी भागरथीलाई बलात्कार गर्न नसक्ने र हत्या पनि नगरेको भन्दै आफन्तहरुलाई भनेका थिए ।

घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको आरोप लगाइएको थियो । प्रहरीले त्यो दाबीलाई असत्य भनेको छ ।

घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन् । केहीको बढुवा समेत भएको छ ।

यसअघि दिनेशले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएका थिए । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो ।

हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाई हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् ।

प्रहरीले दिनेशले बलात्कारको योजना पहिले नै बनाएर डेढ घन्टा अगाडि नै विद्यालयबाट निस्किएको र जङ्गलमा कुरेर बसेको विषय सार्वजनिक गरेको थियो । उनले बाटोमा भागरथीलाई समातेको र प्रतिकारका क्रममा दुवैबीच झडप भएको थियो । त्यसपछि झाडीमा लडाएको उल्लेख गरेको थियो ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।

बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर, आरोपी दिनेश भट्टको घटनाको १२ दिनपछि पहिचान खुली १३ औं दिनमामात्र सार्वजनिक गरिएको थियो ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो । भागरथीको बलात्कारपछि हत्याको घटनातर्फ सिंगो देशकै ध्यान मोडिएको थियो । प्रहरीले निकै संयमित भई दोषी पत्ता लगाएको थियो ।



प्रतिक्रिया दिनुहोस्