Logo

बालुवाटारमा सर्वदलीय बैठक सुरु, दाहाल र नेपाल गएनन् (को गए, को गएनन् ?)



काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएका हो । समसामयिक राजनीतिक विषय, कोरोना संक्रमणको दोस्रो लहर र संसद्को हिउँदे अधिवेशन बन्द गरी बजेट अधिवेशन सुरु गर्ने सम्बन्धमा छलफल बोलाईएको जनाईएको छ ।

बैठकमा नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, बिष्णु पौडेल, राजन भट्टराई सहभागी छन् । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, बालकृष्ण खाँण सहभागी छन् । त्यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु लक्ष्मणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ला सहभागी छन् । मजदुर किसान पार्टीका प्रेम सुवाल, जनमोर्चाका हिमालाल पुरी र राप्रपाबाट डा. प्रकाश्चन्द्र लोहनी सहभागी छन् ।

उक्त बैठकमा दाहालसँगै एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छैनन् । यद्धपी प्रधानमन्त्रीको सचिवालयले भने माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने निम्तो नै नदिएको जनाएको छ । एमाले नेताहरु माधव नेपाल र झलनाथलाई नबोलाउनको कारण चाहीँ पार्टीबाट ६ महिनाको लागि साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेकोले आजको सर्बदलीय बैठकमा नबोलाईएको पनि जनाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot