Logo

आयातित संक्रमणलाई निस्तेज गर्नको लागि सिमानाको व्यवस्थापन गर्नुपर्छ, सिमानामा क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ : डा. वन्त (भिडिओसहित)



काठमाडौं, ४ बैशाख । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा इंगित गरिरहेका थियौं । अहिले हामी जुन चरणबाट गुज्रिरहेका छौं, यो हाम्रो लागि एकदम छक्क मान्नुपर्ने, हामीले सोचेभन्दा बाहिरको स्थिति पक्कै पनि होईन् । मुख्य कुरा, यस्तो हुनसक्छ भन्ने कुराको अनुमान हुँदाहुँदैपनि हामीले कति तयारी गर्यौं ? अहिले हामी चाहीँ अहिलेको प्रकोपलाई सम्बोधन गर्न के कस्ता नीतिहरु बनाईरहेका छौं, यो एकदमै महत्वपूर्ण पाटो हो ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. वन्तले यो चरणलाई सम्बोधन गर्नको लागि र रोकथाम गर्नको लागि के गर्नुपर्छ भन्नलाई आफूहरुलाई नौलो कुरा नभएको पनि टिप्पणी गरे । उनले भने,‘साँच्चै भन्ने हो भने हिजो हामीले पहिलो चरणमा रोकथाम तथा नियन्त्रण गर्नको लागि जे जस्ता जनस्वास्थ्यका मापदण्डहरु, स्वास्थ्य सेवाको तयारीपन आवश्यकत्ता थियो, आजपनि त्यही आवश्यकत्ता हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा अहिले भाइरसको नयाँ भेरियन्ट आएकोबारे भने,‘भाइरसको नयाँ भेरियन्ट आएको छ भन्ने छ, त्यसले गर्दा जनस्वास्थ्यका मापदण्ड, नयाँ विधि, उपचारको विधिहरुमा अथवा संक्रमितहरुलाई उपचार गर्ने विधिहरुमा केही फरक पार्छ कि भन्नेबारे अझैपनि कुराहरु स्थापित भैसकेको छैन् ।’

उनले नयाँ भेरियन्ट हिजोको भेरियन्टभन्दा अलिक बढि संक्रामक रहेको बताए । उनले भने,‘हामी अहिले बढि नै सतर्कता हुनुपर्छ । रोकथामका विधि त्यही हुन् । संक्रमितको उपचार विधिमा धेरै फरक पर्दैन् । संक्रमणलाई निस्तेज पार्ने, संक्रमणको चक्रलाई कसरी तोड्ने ? र संक्रमितहरुको कसरी व्यवस्थापन गर्ने ? भन्नेबारे गम्भीर हुनुपर्छ ।’

उनले संक्रमण रोक्नको लागि आयातित र यहाँभित्रै भएको संक्रमणलाई रोक्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले हामीले आयातित संक्रमणको व्यवस्थापन गर्नको लागि, आयातित संक्रमणलाई निस्तेज गर्नको लागि गर्नुपर्ने महत्वपूर्ण काम भनेको सिमानाको व्यवस्थापन नै हो । सिमानाको व्यवस्थापन भन्दाखेरि हामीले विगतमा सिमानालाई बन्दाबन्दी गरेर जुन पीडाहरु नागरिकहरुलाई दियौं, त्यसबाट सिक्नुपर्नेछ । सिमा बन्द गरेर समस्याको हल हुँदैन् । पहिलो काम भनेको हामीले सिमानामा क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्छ । सिमानामा निगरानी गर्नुपर्छ । परीक्षणको व्यवस्थापन गर्नुपर्छ । र, त्यहाँ पहिचान भएका संक्रमितहरुलाई आईसोलेशनको व्यवस्थापन गरेर आयातित केशहरुलाई व्यवस्थापन गर्न सक्छौं ।’ उनले सिमानामा के कस्तो व्यवस्थापन भैरहेको छ भन्नेबारे आफूले व्यक्तिगत रुपमा जानकारी नराखेको पनि जनाए ।

उनले जुन प्रभावकारिताका साथ सिमानामा क्वारेन्टिनको व्यवस्थापन भएको छ भन्नेमा आफूलाई विश्वास नलागेको पनि स्पष्ट पारे । उनले भने,‘अहिले जुन संख्यामा परीक्षणहरु भैरहेका छन्, त्यो परीक्षण कसरी भैरहेको छ, त्यो थाहा छैन् । कुन मापदण्डमा एन्टिजेन र कुन मापदण्ड र कसलाई पिसिआर परीक्षण भैरहेको छ ? त्यो थाहा छैन् । जोखिममा भएकाहरुको मात्रै परीक्षण गरेका हौं कि ? के हो यो विषयमा प्रष्ट हुनुपर्छ ।’ अहिलेको कोरोना संक्रमणको दोस्रो चरण स्वभाविक भएको पनि उनको भनाई छ । उनले भने,‘जबसम्म संक्रमणको स्रोत रहिरहन्छ, तबसम्म यो संक्रमण विस्तार र उतारचढाव भैरहन्छ ।’

उनले सरकारको तहबाट राष्ट्रिय तहको नीतिहरु नै के कस्तो बनेका छन् त ? त्यसको बारेमा अन्यौलता देखिएको सुनाए । उनले भने,‘के गर्ने भन्नेबारे स्पष्ट खाका छैन् । नेपाल सरकार भनेको स्वास्थ्य मन्त्रालय मात्रै पनि होईन् । नेपाल सरकार भन्नाले सबै बुझ्नुपर्छ । प्रत्येक निकायको आ आफ्नो दायित्व हुन्छ । तर, मैले समन्वयको कमी देखेको छु । स्कुल बन्द गर्ने कि नगर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच प्रभावकारी समन्वय हुन सकेको छैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot