Logo

कोरोना संक्रमणप्रति सचेत नभए ठूलो क्षति हुनेवाला छ : डा. अनुप बास्तोला (भिडिओसहित)



काठमाडौं, ४ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संक्रमणले भुसको आगोको रुप लिइसकेकोले चैत महिनामा मात्रै ४६ जना आइसियुमा भर्ना भएको जानकारी दिए ।

धेरैजसो अस्पतामा संक्रमितलाई उपचार गराउन आइसियु , भेन्टिलेटर अभाव हुनसक्ने अवस्था आउन सक्ने जानकारी दिए । त्यसैगरी पछिल्लो समय संक्रमित भएकाहरु निको हुनै नसकेको पनि बास्तोलाले बताए । यस्तो डरलाग्दो अवस्था सृजना हुँदा पनि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेर ठूलो गल्ति गरिरहेको बास्तोलाले बताए ।

युके भेरियन्ट नेपालमा आइसकेको अवस्थामा लापरबाही गर्नुले अब ठूलो क्षति हुन सक्ने चेतावनी उनले दिए । संक्रमण नियन्त्रणका लागि सरकार र जनता दुवै पक्ष सचेत हुनुपर्ने उनको भनाई छ ।

तर, यो भयावह स्थितीमा पनि सर्वसाधारण सचेत हुन नसकेको भन्दै डा. बास्तोलाले कडा चेतावनी दिएका छन् । कतिपय विद्यार्थीहरुसमेत संक्रमित भइरहको तर अभिभावकले बेवास्ता गरेको उनको आरोप छ । अहिले नै रोकथामका लागि व्यवस्थित उपाय अपनाउन नसके उपचारसमेत गराउन नसक्ने अवस्था सृजना हुने बास्तोलाले बताए । काम नभएकाहरु सेल्फ लकडाउनको शैलीमा घरमै बस्न बास्तोलाले सुझाब दिएका छन् ।

अहिलेको जोखिमलाई मध्यनजर गर्दै भेला, सभा सम्मेलन, पर्व आदिका नाममा भिडभाड गर्ने काम तत्काल अन्त्य गर्नुपर्ने बास्तोलाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot