Logo

एमाले मिलाउन चीन सक्रिय



काठमाडौं, ९ वैशाख । फुटको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउन बाह्य शक्ति समेत सक्रिय भएको खुलेको छ । चीनले भित्री रुपमा एमालेको एकता जोगाउन सक्रियता बढाएको छ ।

विश्वस्त स्रोतका अनुसार चिनियाँ पक्षले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग सम्पर्क गरी एकतामा जोड दिएको छ । एमाले फुटेमा नेपालको राजनीतिमा अस्थिरता बढ्ने भन्दै चीनले चासो बढाएको छ । चिनियाँ दूतावासमार्फत् पनि एमाले नेताहरुसँग सम्पर्क गरी एकताका लागि दबाब दिइएको स्रोतले बतायो ।

चिनियाँ भूमिका बढेसँगै नेकपा एमालेका दोस्रो तहका नेताहरु सक्रिय भएर ओली र नेपाललाई भेटवार्ताका लागि माहोल निर्माण गर्न सफल भएका थिए । त्यसको परिणाम बुधबार साँझ संवादहीनतामा आइसब्रेक भई ओली र नेपालले मेरियट होटलमा भेटवार्ता गरेका थिए । आज अपरान्ह पनि दुई नेताले सोही होटलमा भेटवार्ता गरे । उनीहरुले मन माझेर कुरा गरे ।

चीनले कम्युनिस्ट एकतामा सक्रिय भूमिका निभाउँदै आएको छ । नेकपा विभाजन हुन नदिन चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन् । चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली नै नेपाल आएर कम्युनिस्ट एकता बचाउन भूमिका खेलेको थियो । तर, नेकपा विभाजन रोकिएन । सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी ब्युँतिएको थियो ।

एमाले र माओवादीभित्र चिनियाँ प्रभाव बढी देखिन्छ । नेकपा रहँदा चिनियाँ कम्युनिस्ट पार्टीसँग संयुक्त प्रशिक्षण समेत भइरहन्थ्यो । भर्चुअल बैठकहरु अहिले पनि एमाले र माओवादीका नेताहरुसँग चिनियाँ नेताहरुको हुँदै आएको छ ।

चीनले नेपालको राजनीतिमा निकै चासो दिने गरेको छ । उसले कम्युनिस्ट पार्टीहरुसँग सम्पर्क बढाएर प्रभाव पनि बढाएको देखिएको छ । पछिल्लो समय ओली र नेपाललाई मिलाउन पनि चीन सक्रिय भएको हो । तर, मिलनको सम्भावना निकै कम छ । आज माधव नेपाल र झलनाथ खनालसहित उनीपक्षीय १५ नेताको संयुक्त अपिलमा ओलीमाथि कम्युनिस्ट आन्दोलन नै विसर्जनको दिशामा लगेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot