काठमाडौं, १९ जेठ । नेकपा (एमाले) को एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् । ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली पार्टी एकताको लागि सक्रिय छन भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्ट छन् ।
पार्टीको एकता जोगाउनको लागि हदैसम्मको प्रयास गरिने हिजो बसेको स्थायी कमिटीको बैठकले निर्णय गरेको थियो । यसअघि स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई कारबाही गर्नसमेत अध्यक्ष केपी शर्मा ओलीले ढिलाई गरिरहेका छन् । कतिपयले यसलाई पार्टी एकताको लागि ओली गम्भीर बनेको रुपमा समेत बुझेका छन् । यो अवधिमा उनले माधव नेपाल पक्षधर नेताहरुसँग छुट्छाछुट्टै भेटवार्तासमेत गरिरहेका छन् । हालै उनले भीम आचार्यसँग तीन घण्टा लामो छलफल गरेका थिए ।
नेता नेपालले पनि आफू पक्षधर नेताहरुलाई दुई दिनभित्र सहमति गर्ने हो भने गर्नुहोस अब त्यो भन्दा बढि कुर्न नसकिने बताईसकेका छन् । नेपाल पक्षबाट वार्तामा सहभागी भएका भनिएका नेता सुरेन्द्र पाण्डे भने अहिले कुनै वार्ता नभएको सुनाउँछन् ।
उनले भने-“हामी अस्ति वार्तामा बसेका हौं । तर, हिजो र आज वार्ता भएको छैन् । अहिले मिल्ने कुरा गफ मात्रै हो । कुराकानी अस्ति मात्रै भएको हो । अहिले पार्टी एकताको सम्भावना कसरी हुन्छ ? एकपटक सबैले इमानदार प्रयास गरौं भनिएको हो । तर, सहमति भएको छैन् । हामी त अझैपनि एकपटक मिलाउनुपर्छ भन्ने पक्षमा छौं । त्यहाँबाट कुरा भएको छैन् ।”