नाम : डा. रजनी ढकाल
जन्म : ३० श्रावण २०२९
पिता : डा. अग्निप्रसाद काफ्ले
माता : दिव्येश्वरी काफ्ले
शैक्षिक योग्यता
विद्यावारिधि, नेपाली, (गोविन्द गोठालेका कथामा मनोविश्लेषण) २०७३
कृतिहरु
लयको खोजीमा (निबन्धसङ्ग्रह, २०७४)
रङहरूमा जिन्दगी (कवितासङ्ग्रह, २०६९)
हृदयका गीतहरू (गीतसङ्ग्रह, २०६६)
हत्केलामा असार उमारेर (निबन्धसङ्ग्रह, २०६४)
पत्रैपत्र (उपन्यास–सहलेखन, २०६८)
पाठ्यपुस्तकः
एकता नेपाली शृङ्खला (कक्षा १ देखि कक्षा ८ सम्म सहलेखन)
समालोचनात्मक कृति :
समकालीन नेपाली कथामा वैचारिकता (२०७७)
देवकोटाका निबन्धमा निजात्मकता (२०७५)
वधूशिक्षा : विश्लेषण र मूल्याङ्कन (२०७२)
नेपाली नारी उपन्यासमा लैङ्गिकता (२०७२)
विश्वनारी नेपाली साहित्य परम्परा र प्रवृत्ति (सहलेखन, २०७१)
नेपाली महिला लेखन : प्रवृत्ति र योगदान (२०७१)
प्रायोगिक समालोचना : अनेक रूप (२०७०)
निबन्धहरूमा मञ्जुल (२०५८)
केही नेपाली समालोचकहरू (२०५८)
सम्पादन :
आँधीको आवाज (पत्रिका, २०६३) लगायत आधा दर्जनभन्दा बढी कृति
पदक, पुरस्कार र सम्मान :
नेपाल विद्याभूषण ’क’ (२०७५)
क्षेत्रीय प्रतिभा पुरस्कार, नेपाल सरकारबाट प्राप्त (२०७१)
भानुभक्त प्रज्ञा पुरस्कार, भानुभक्त द्विशतवर्षिकीको अवसरमा वधूशिक्षामा विशेष र उल्लेखनीय अनुसन्धान गरेबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त (२०७१)
भानुभक्त निबन्ध पुरस्कार, भानुभक्त द्विशतवर्षिकीको अवसरमा उत्कृष्ट निबन्ध रचनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त (२०७१)
अनेसास स्व. रामबहादुर के. सी. गण्डकी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार (सन २०१३)
पद्मकन्या स्वर्णपदक, स्नातकोत्तर तहमा प्रथम स्थान प्राप्त (२०५६)
तीर्थप्रसाद ढुंगाना पुरस्कार, स्नातकोत्तर तहमा प्रथम स्थान प्राप्त (२०५६)
प्रेमचन्द्रदेवकुमारी पुरस्कार, स्नातकोत्तर तहमा प्रथम स्थान प्राप्त (२०५६)
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?
पचासको दशकबाट मेरो लेखन अघि बढेको हो । नेपाली विषयमा स्नातकोत्तर पढ्न थालेपछि लेख्न थालेकी हुँ ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
ग्रामीण जीवनमा हुर्कंदै गर्दा सुनेका लोकभाका र त्यहाँको प्रकृति, अग्रज लेखक, समाजका गतिविधि, स्नातकोत्तर पढ्दा पद्मकन्या कलेजका गुरुवर्ग र साथी, लेखन एउटा राम्रो सिप निर्माण हो भन्ने सोच आदिले प्रभावित भएँ ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
आजभोलि अनुसन्धानमूलक लेखनमा केन्द्रित छु । सिर्जनात्मक लेखनमा कविता र निबन्ध केहीमात्र भएको छ ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
लेखनकर्म सामाजिक परिवेश र विश्वको स्थिति अनि लेखकको चेतना निर्माणबाट डोरिएको हुन्छ । जुन समयमा जे लेखियो–त्यो ठीकै होला तर लेखकलाई त्यसले मात्र चुप लागेर बस्न दिँदैन ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
अनुसन्धानका केही नयाँ काम गर्ने योजना छन्, पूरा भए किताब बन्छन् । अनि केही सिर्जनाका पनि योजना छन् ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
जुन समाज वा देश साहित्यमा धनी हुन्छ– त्यो सभ्य कहलाउँछ । त्यसैले साहित्यलाई जोगाउनु राष्ट्रको जिम्मेवारी हो ।
तपाईंको साहित्यिक आदर्श के हो ?
चेतना निर्माण मेरो लेखनको आदर्श हो । सिर्जना र समालोचना दुवैमा मेरो लेखन यही आदर्शले डोरिएको हुन्छ ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
लेखक हुनु भनेको सामाजिक अन्यायविरुद्ध चेतना निर्माण गर्नु हो । कलात्मक शिल्पमा भाषाका माध्यमबाट गरिने यस्तो चेतना निर्माणमा सबै उत्तिकै सफल भएजस्तो लाग्दैन ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्य लेखन सामाजिक सरोकारको विषय हो । साहित्य शक्तिहीनका पक्षमा वर्चस्वविरुद्धको चेतनामूलक लेखन हुनुपर्छ । समाजमा ओझेलमा पारिएका वर्गको आवाज साहित्यमा ल्याउनु आजको आवश्यकता भएको छ । यसमा पृथ्वी र पर्यावरणलाई पनि समेट्नुपर्छ । साहित्यको अनिवार्य शर्त यसको कलात्मक गुण त हुँदै हो ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
भोगाइका छट्पटी, समानुभूतिका औडाह अनि समाजको कुरूपताको बोध, सौन्दर्यचेतनाको स्पर्शमय अनुभूति आदिले पोखिने ठाउँ खोज्दा भाषिक कलाका अनेक रूप खोज्छन् ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
त्यस्तो छैन, जुनसुकै बेला पनि लेख्न सक्छु । यत्ति हो साथमा ल्यापटप र एकान्त परिवेश चाहिन्छ । रात्रिकाल बढी अनुकूल हुन्छ ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
शान्त वातावरण नै रोज्छु । तर कहिलेकाहीँ यात्रा र होहल्लामा पनि मनले जब लेखनको सामग्री जुटाउँछ । गीत र कविताका केही हरफ त्यहीँ पनि कोरेको हुन्छु ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
अध्ययन, यात्रा, अनुभव र समाज बुझाइ आदिबाट लेखनका सामग्री जुट्छन् ।
सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
निरन्तरको साधना र अध्ययनशीलता । चेतनशील सोच र सिर्जनशील क्षमता त हुनै पर्छ ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
आख्यानमा नै बढी पाठक होलान् । कविता पनि बढी पढिन्छ ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
साहित्यको आधारभूमि समाज हो । कल्पना पनि समाजकै धरातलबाट निर्माण भएको हुन्छ । कल्पनाले साहित्यलाई कलाको स्वरूप दिन्छ भने यथार्थले त्यसलाई विश्वसनीय बनाएको हुन्छ ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
सच्चा लेखकका लागि लेखन बाध्यता होइन– जीवनशैली हो । बाँच्नुजत्तिकै जीवनको एउटा पाटो हो । समयको आवश्यकता र रुचिअनुसार लेखनका रूप फरक हुन्छन् ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
अध्ययनशीलता लेखनको आड हो । निरन्तर साधनाले लेखनलाई बचाउँछ । जिम्मेवारीबोधका साथ लेख्नु असल लेखकको धर्म हो ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
साहित्यले चेतनाको निर्माण गर्छ । साहित्य बोल्न नसक्नेको आवाज बन्नुपर्छ । राजनीतिक दलको झण्डामुनि कुनै सीमित स्वार्थका लागि मात्र साहित्य लेखिनु राम्रो होइन तर चेतनाको निर्माण गर्ने भएकाले साहित्य विचारसापेक्ष हुन्छ ।