Logo

माधव नेपालबाट लाभ लिनेहरुले नै साथ छाड्दै गए



काठमाडौं, ७ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विगतमा धेरैले ढुलमुले नेता भन्थे । उनले एमाले महासचिव हुँदा गरेका कतिपय निर्णयले ढुलमुलेको आरोप समेत लाग्यो । तर, पछिल्लो समय उनी चट्टाने अडान लिएर बढेका छन् ।

कुनै हालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता नगर्ने अडानमा नेपाल डगमग भएका छैनन् । एमालेभित्र उनी खेमाका केही नेताहरुको भूमिकाका कारण आशंकाहरु भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै बेला बेलामा सशंकित भइरहेका छन् ।

नेपालले भने अब आफू पछाडि फर्कन नसक्ने स्पष्ट पारिसकेका छन् । देउवा र प्रचण्डलाई स्पष्ट शब्दमा ब्याक नहुने र बोलेको पूरा गर्ने नेता भएको स्पष्ट पारिसकेका छन् ।

ओलीसँग सम्झौताका लागि उनको शर्त कडा देखिएको छ । २ जेठ २०७५ को अवस्थामा एमालेको सांगठनिक स्वरुप रहनुपर्ने, प्रतिनिधि सभा विघटनको कदममा ओलीले सार्वजनिक रुपमा माफी मागेर आत्मालोचना गर्दै सच्याउनुपर्ने मुख्य छन् । पहिलोमा तयार भएपनि दोस्रोमा ओली तयार देखिदैनन् ।

ओलीसँग नेपालको मिलनको सम्भावना निकै कमजोर बनिरहेको छ । तर, दुवै पक्षका केही नेताहरु एमाले एकतामा सक्रिय छन् ।

नेपाल समूहबाट एमाले एकतामा सक्रिय हुनेहरु विस्तारै उनीबाट टाढिदै जानुलाई रोचक मानिएको छ ।

माधव नेपाल खेमाबाट फाइदा लिनेहरुले नै उनलाई छाड्दै गएका छन् । विगतमा उनको खेमाबाट कानुनमन्त्री भएका शेरबहादुर तामाङले छाडे । अहिले उनी स्वास्थ्यमन्त्री छन् । लालबाबु पण्डित पनि नेपाल खेमाबाट मन्त्री भएका थिए । उनले पनि नेपाललाई छाडे । लालबाबुको नामै तोकेर नेपालले आयाराम गयाराम भनेका छन् ।

पछिल्लो समय नेपालसँग टाढिदै गएकामा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत छन् । उनीहरुले पनि नेपाल खेमाबाट लाभ लिएका थिए । एकता पक्षधर देखिएपनि यी नेताहरु तत्कालीन नेकपा हुँदा नेपालको पक्षमा खुलेर कडा रुपमा प्रस्तुत भएका थिए । अहिले यी नेताहरु एकता पक्षधर देखिएका छन् ।

पाण्डे विगतमा अर्थमन्त्री समेत भएका थिए । नवौं महाधिवेशनमा नेपाल खेमाबाट महासचिवका उम्मेदवार पनि थिए । अहिले उनले नेपाललाई विस्तारै छाड्दै गएका छन् । नेपालले नयाँ दल खोलेमा पाण्डेले साथ दिने निश्चित देखिएको छैन ।

योगेश भट्टराईले माधव नेपालले नयाँ दल खोल्न लागे या एमाले छाडे साथ नदिने प्रष्ट बताइसकेका छन् । उनी एकता पक्षधर भएपनि ओलीको नजिक बन्दै गएका छन् । विगतमा नेपाल समूहबाट सचिवको चुनाव जितेका उनी यही खेमाबाट ओली सरकारमा मन्त्री पनि भएका थिए ।

गोकर्ण बिष्ट माधव नेपालका निकै प्रीय थिए । उनले नेपाल समूहबाट दुईपटक मन्त्री बन्ने मौका पनि पाए । नवौं महाधिवेशनबाट सचिव पनि यही खेमाबाट जिते । तर, अहिले उनी नेपालबाट टाढा हुँदै गएका छन् ।

घनश्याम भुसाल पनि नेपाल खेमामा रहे । उक्त खेमाबाट उपमहासचिवको उम्मेदवार बनेर विजयी भए । अहिले भुसाल पनि नेपालबाट टाढिन थालेका छन् । नेपाल खेमामै रहेर उनी कृषिमन्त्री समेत भएका थिए । सरकारमा रहँदा ओलीको तीखो आलोचना क्याबिनेटमा समेत गरेका थिए । अहिले भुसाल विस्तारै टाढिनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्