काठमाडौं, ७ असार । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि एकजुट हुनेमा सभापतिका तीन आकांक्षी सहमतिको नजिक पुगेका छन् । आज काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह निधि निवास बानेश्वरमा लन्चसहित बैठक बसेर सहमतिको खाकाबारे छलफल गरेका हुन् ।
तीन नेताले पावर सेयरिङको कुरा गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार सामूहिक नेतृत्वबाट पार्टी चलाउने, एक व्यक्ति एक पदको प्रावधानबाट सरकारमा जाने गरी सहमतिको खाका बनेको छ ।
निधि, कोइराला र सिंह तीनैजना सभापतिका आकांक्षी हुन् । निधिले आफूलाई नेतृत्वमा साथ दिन दुवैजना नेतासँग आग्रह गर्दै आएका छन् । कोइराला पनि नेतृत्वका लागि साथ दिन आग्रह गर्दै आएका छन् । सिंहले आफ्नो परिवारले पटक पटक त्याग गरेको स्मरण गराउँदै अब आफ्ना लागि त्यागको भावना देखाउन निधि र कोइरालालाई आग्रह गर्दै आएका छन् ।
निधि, कोइराला र सिंह दुवै विरासतको राजनीति गर्दै आएका नेताको परिचय बोकेका छन् । निधि महेन्द्र नारायण निधिका पुत्र हुन् । उनको मधेशमा राम्रो पकड छ ।
सशांक कोइराला काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र हुन् । उनको काँग्रेसभित्र लोकप्रीयता छ ।
सिंह गणेशमान सिंहका पुत्र हुन् । उनको पनि काँग्रेसमा बलियो पकड छ ।
तीनैजना सभापतिका आकांक्षी हुन् । तर, पावर सेयरिङ गरेर तीनजना नेता सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । तीनजना मिलेर सभापतिको उम्मेदवार बनेमा वर्तमान सभापति शेरबहादुर देउवालाई ठूलो चुनौती बन्न सक्छ ।
काँग्रेसको महाधिवेशन भदौमा हुने तय भएको छ । महाधिवेशनमा अहिलेसम्म सभापतिका एक दर्जन आकांक्षी देखिएका छन् ।