Logo

काँग्रेसमा नयाँ नेतृत्वका लागि सहमतिको वातावरण बन्योः सुजाता कोइराला



काठमाडौं, ७ असार । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीमा नयाँ नेतृत्व अनिवार्य भएको बताएकी छिन् । उनले नेतृत्व परिवर्तनका लागि सहमतिको वातावरण बन्दै गरेको समेत बताइन् ।

‘नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन अनिवार्य छ,’ पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले भनिन्,‘यसका लागि सबैले सहमति बनाउनुपर्ने भावनाका साथ वातावरण विकास भएको छ ।’ उनले नेतृत्व परिवर्तनका लागि सहमति विकास गर्न आफूले पनि पहल गरिरहेको बताइन् ।

काँग्रेस कमजोर हुँदा देशमा जहिले संकट आउने गरेको भन्दै अब सशक्त ढंगले पार्टी अगाडि बढ्ने गरी नेतृत्व स्थापित हुनुपर्ने बताइन् । त्यसका लागि सबैले केही न केही त्याग देखाउनुपर्ने बताइन् ।

नेतृत्व परिवर्तनका लागि पहल भइरहेको र सभापतिका आकांक्षीहरुबीच छलफल जोडतोडले चलिरहेको बताइन् । उनले आफू पनि सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेको बताइन् । तर, सहमतिका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको स्पष्ट पारिन् । कोइरालाले भनिन्,‘काँग्रेसलाई नेतृत्व दिन म सक्षम छु तर पार्टी मजबुत बनाउन आवश्यक परे जस्तोसुकै त्याग गर्न तयार छु ।’

व्यक्तिभन्दा काँग्रेस ठूलो र महत्वपूर्ण हो भन्दै आफू पार्टीलाई बलियो बनाउन लागिपरेको बताइन् । उनले पार्टी व्यक्तिवादी हुँदा कमजोर बनेको तर्क गरिन् । उनले भनिन्,‘काँग्रेस अब सामूहिक नेतृत्वबाट चल्नुपर्छ ।’ शक्तिको बाँडफाँड गरी सभापतिका आकांक्षी नेताहरु पार्टी बलियो बनाउन नयाँ नेतृत्व चयनका लागि बढ्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot