Logo

ओलीको अल्टिमेटमभित्र २३ ‘सांसद’ को हस्ताक्षर फिर्ता भएन, अब के होला ?



काठमाडौं, २१ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पक्षधर २३ विघटित प्रतिनिधि सभाका सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउावलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन मानेनन् । आज साँझ ५ बजेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएकोमा नेपाल तयार नभएका हुन् ।

ओलीले हस्ताक्षर फिर्ता नलिए २३ जना सांसद नमानिने स्पष्ट रुपमा भनेका थिए । उनले केन्द्रीय कमिटी बैठकबाटै अल्टिमेटमको निर्णय लिएका थिए । आफ्नै पार्टीका नेतालाई हटाएर अर्को पार्टीकालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले हुन नसक्ने समेत निष्कर्ष निकालेका थिए ।

अब २३ सांसदबारे ओलीले कस्तो निर्णय लेलान् ? चासोको विषय बनेको छ । ओलीले चाँडै बैठक डाकेर कारबाहीको निर्णय पनि लिन सक्छन् । प्रतिनिधि सभा नरहेकाले उनले पार्टीबाट मात्र निष्काशनको निर्णय लिन सक्छन् । तर, नेपाल समूहले ओलीले डाकेको बैठक नै अवैधानिक भन्दै निर्णयको वैधतामाथि प्रश्न उठाउँदै आएका छन् ।

फेरि बैठक डाकेर माधव नेपालसहित २३ जनामाथि कठोर निर्णय लिएपनि त्यसको वैधतामाथि प्रश्न उठ्न सक्छ । सर्वोच्च अदालतले एमालेको नवौं महाधिवेशनको कमिटीको निर्णय मात्र मान्य हुने आशयको आदेश जारी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्