ओलीले यसकारण भने ‘मंसिरमै एमाले महाधिवेशन हुन्छ हुन्छ’


काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस वर्षको मंसिरमा पार्टीको महाधिवेशन हुने ठोकुवा गरेका छन् । उनले कुनै हालतमा महाधिवेशन नसर्ने र सार्ने छुट पनि नभएको स्पष्ट पारे ।

आज बागमती प्रदेश एमालेको प्रथम बैठकलाई सम्बोधन गर्दै भने,‘मंसिरको १०, ११ र १२ गते महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ ।’ उनले आखिर यसो किन भने ?

यो वर्षको ११ फागुनभित्र महाधिवेशन नभए ओली अध्यक्षको उम्मेदवार बन्न पाउने छैनन् । विधानले नै उनलाई अध्यक्ष मात्र नभई कुनै पनि कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य निर्वाचित हुन या मनोनित हुन छुट दिने छैन ।

एमालेको विधानमा ७० वर्षको उमेरहद राखिएको छ । ११ फागुन २०७८ मा ७० वर्ष पूरा गरी ७१ वर्षमा प्रवेश गर्दैछन् । तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओली आउँदो ११ फागुनमा ७१ वर्ष पुग्नु अगावै नेकपा एमालेको महाधिवेशन नभए ओलीलाई धक्का पर्न सक्छ ।

एमाले विधानमा भनिएको छ,‘७० वर्ष उमेर पुरा भएको व्यक्ति सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउनेछैन । तर, ७० वर्ष पुरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवार बहन गर्न बाधा पुगेको मानिने छैन ।’ यो केपी शर्मा ओलीलाई पुनः नेतृत्वमा ल्याउने गरी बनाइएको हो । यसकारण पनि एमालेले मंसिरमै महाधिवेशन गरिसक्ने छ । विधान अनुसार ओली अध्यक्ष निर्वाचित भएमा ७० कटेपनि पूर्ण कार्यकाल रहनेछन् ।

Skip This

Omoda E5 Pro