Logo

‘जनयुद्ध’ पछि अर्को जोखिम मोल्दै प्रचण्ड



काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने कदम नचालेको भए उनको शक्ति यतिसम्म कम हुँदैनथ्यो । कटवाल प्रकरणपछि उनले सत्तामात्र छाड्नुपरेन माओवादी कमजोर हुँदै पहिलोबाट तेस्रो शक्ति बन्ने आधार सृजना भयो ।
कटवाल प्रकरणपछि धक्का खाएका प्रचण्ड त्यसपछि भएका दुई वटा निर्वाचनमा तेस्रो शक्तिका रुपमा खुम्चिए । उनको दल टुक्रा टुक्रा भयो ।

कटवाललाई हटाउन प्रचण्डले ठूलै जोखिम मोलेका थिए । उनी त्यसमा सफल भएको भए अझ शक्तिशाली हुन्थे । तर, खेल उल्टो भयो । उनको शक्ति खेर गयो । त्यसपछि कमजोर अवस्थामा झरे ।

अहिले प्रचण्ड फेरि अर्को राजनीतिक जोखिम मोल्ने तयारीमा छन् । उनले त्यसको स्पष्ट संकेत गरिसकेका छन् । प्रचण्ड प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने कदममा बढ्दैछन् ।

जबराको राजीनामा माग्ने देखि महाभियोग लगाउनुपर्ने दबाब सृजना गर्ने अभियानमा लागेका अधिकांश कानुन व्यवसायीहरु प्रचण्डनिकट छन् । स्वयं प्रचण्डले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै महाभियोगको संकेत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि त्यही संकेत गरेका छन् ।

प्रचण्डका लागि संवैधानिक निकायमा भएका नियुक्ति महत्वपूर्ण बनेको छ । जुनसम्बन्धी विषय अदालतमा विचाराधीन छ । तर, जबरामाथि उक्त मुद्दा अगाडि नबढाएको आरोप छ । यसकारण पनि प्रचण्ड जबराबाट मुद्दा अगाडि बढाएर फैसला पक्षमा पार्ने या बर्हिगमनमध्ये एक चाहन्छन् ।

प्रचण्डले केही महिना अघि ठूलो जोखिम मोल्ने बताएका थिए । उनी अब जबरालाई महाभियोग लगाउने जोखिम मोल्न बढेको देखिदैछ । यो उनको राजनीतिक जीवनको अर्को जोखिम हुनेछ ।

प्रचण्ड जबरालाई महाभियोग लगाएर सफलता हासिल गर्न सके देशको सबैभन्दा शक्तिशाली नेता बन्नेछन् । उनले फेरि नयाँ राजनीतिक ऊर्जा पाउनेछन् । यसमा असफल भए उनलाई कटवाल प्रकरणभन्दा पनि ठूलो धक्का लाग्न सक्छ । प्रचण्ड यसकारण पनि ठूलो राजनीतिक जोखिमका लागि तयार देखिएका छन् । सम्भवतः यो जनयुद्धपछि अर्को ठूलो जोखिम हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्