Logo

म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय



एजेन्सी, २० मङ्सिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।

उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठहर्‍याए उनले आजीवन काराबासको सजाय पाउने देखिन्छ।गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो। उनले आफूमाथि लगाएको सम्पूर्ण आरोपलाई अस्वीकार गरेकी छिन् ।

सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो। उक्त चुनावमा सुकीको नेश्नल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्