Logo

‘बत्ती पानसमा’ गीतको म्युजिक भिडियो सार्वजनिक, ऋषि धमलाले सुनाए गीत गाउने धोको (भिडिओसहित)



सचिना बानियाँ : काठमाडौं, ६ फागुन । पानस डिजिटल प्रा.ली.ले ल्याएको ‘बत्ती पानसमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (शुक्रबार) आयोजित एक कार्यक्रमका बीच क्लबका सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमला र चर्चित गायक राजु परियारले उक्त गीतको भिडिओ सार्वजनिक गरेका हुन् ।

पत्रकार धमलाले छोटो समयमै लोक तथा दोहोरी गीतका स्रष्टा तथा कलाकारहरुले देशको गीत, संगितको विकासमा ठूलो योगदान पुर्याएको बताए । नेपालको लोकभाका र लोक संगीतले मानिसहरुलाई सकारात्मक उर्जा दिने उनको भनाई थियो । मानिस गीत र संगितबिना बाँच्न नसक्ने धमलाको भनाई छ ।  उनले भने,‘लोकदोहोरी अहिलेको अवस्थामा सबैलाई नभई नहुने भएको छ । लोकभाकाले नेपालको गीत, संगितको क्षेत्रको विकासमा ठूलो भुमिका पनि खेलेको छ ।’ उनले गीत/संगितलाई आफुले सम्मान गर्ने पनि स्पष्ट पारे । गीत संगीतले समाजलाई परिर्वतन गर्ने पनि उनले धारणा राखे ।

उनले भने,‘मनको पीडा, समस्या, मिलन–बिछोड सबै गीतमार्फत पोखिन्छ । गीत सुन्दा साँच्चिकै आनन्द आउँछ ।’ गीत गाउने रहर आफुलाई पनि भएको भन्दै धमलाले स्वर राम्रो नभएकोले गाउन नपाएको बताए । धमलाले आफुले सानोमा ‘हेडमास्टर’ शीर्षकको कविता लेखेको पनि स्मरण गराए । नेपालका स्वरसम्राट नारायण गोपाल र भारतीय गायिका लतामंगेशकरको स्मरण गर्दै उनले गीतसंगीत कहिल्यै नमर्ने बताए । गीत सधैँ अमर र जीवन्त हुने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै चर्चित गायक राजु परियारले गीत बजारमा ल्याउनु ठुलो कुरा नभएको भन्दै गीतले समाजमा केही परिवर्तन ल्याउन सक्यो की सकेन त्यो ठुलो कुरा हुने बताए । गीत कालजयी भए भएनन् अलग कुरा भएको भन्दै उनले नयाँ गीतले पछिल्लो समय त्यत्ति स्थान नपाएकोमा गुनासो पोखे ।

उनले भने,‘पुरानो गीतमै अझैपनि कलाकारहरु रमाइरहेका छन्, पुराना गीतमा मेहनत धेरै भएरपनि होला । तर नयाँ गीतहरुले पनि स्थान पाउनुपर्छ भन्ने मेरो धारणा हो ।’

आज सार्वजनिक भएको गीतमा गायकहरु राजु परियार, खुमन अधिकारी, अर्जुन सापकोटा र गायिकाहरु शान्तीश्री परियार, लक्ष्मी खड्का र अप्सरा वलीको स्वर रहेको  छ।

उक्त गीतको भिडियोको निर्देशन निशान बानियाँले गरेका छन् भने शब्द नेत्र अर्यालको रहेको छ । त्यस्तै, भिडियोको सम्पादन शिव पौडेलले गरेका छन् । गीतमा लय/संगीत भने राजकुमार बानियाँले भरेका छन् ।

गीतका निर्देशक निशान बानियाँले धेरै मेहेनत गरेर म्युजिक भिडिओ तयार गरेको भन्दै भिडिओ सबैले हेरेर प्रतिक्रिया दिनपनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै संगीतकार राजकुमार बानियाँले १ वर्ष अघि ‘फुल्यो गुराँस’गीत बजारमा ल्याएको र उक्त गीतको म्युजिक भिडिओले अहिलेसम्म १ करोड भ्युज पाएको उल्लेख गरे ।

उक्त गीत ‘फुल्यो गुरास’ले सफलता पाएको भन्दै सोही गीतको भाग २ ‘बत्ती पानसमा’ ल्याएको उनले बताए । आज रिलिज भएको उक्त गीत सबैले एकपटक हेर्नपर्ने भन्दै बानियाँले हेरेर प्रतिक्रियाको अपेक्षा गरेको सुनाए ।

त्यस्तै, गायक अर्जुन सापकोटाले पछिल्लो समयमा कलाकारहरुप्रति आममानिसहरुको सम्मान बढेको उनले बताए । गीतको भिडिओमा विक्रम नेपाली र रेश्मा सुवेदीको अभिनय रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि ऋषि धमलाले गायकहरु नेत्र अर्याल, राजकुमार बानियाँ, अर्जुन सापकोटा, गायिकाहरु अप्सरा वली र लक्ष्मी खड्कालाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन भने कमल सरगमले गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्