Logo

रुस-युक्रेन संकटबारे चीनले भन्यो-‘शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द भएको छैन’



एजेन्सी, १२ फागुन। चीनले रुस- युक्रेन संकटबारे शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द नभएको बताएको छ । संयुक्त राष्ट्रसंघका चीनका राजदूत जांग जुनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द नभएको बताएका हुन्।

उनले भनेको विषयलाई उदृत गर्दै संचारमाध्यमहरुले लेखेका छन्, ‘यो बाटो बन्द हुनु पनि हुँदैन ।’ उनले चीनले ती जुनसुकै कूटनैतिक कदमको पनि स्वागत गर्ने बताएका छन् जुन कदम युक्रेनको संकट समाधानको लागि हुनेछन् ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज (बिहीबार)टेलिभिजन सन्देश जारी गर्दै पूर्वी युक्रेनमा विशेष सैन्य कारवाहीको घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा उक्त विषयमा चर्चा भइरहेको छ । पुटिनले युक्रेनका सैनिकलाई हतियार छाड्न भनेका छन् । उनले यस मामिलामा दखल दिनेहरुलाई रुसले जवाफ दिने पनि स्पष्ट पारेका छन् । पुटिनले रुसले युक्रेनमा कब्जा गर्न नचाहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनको कदमको निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव उन्टोनियो गुटेरेसले राष्ट्रपति पुटिनसँग मानवताको नाममा आफ्ना सैनिकलाई फिर्ता बोलाउन आग्रह गरेका छन् । केही दिनअघि राष्ट्रपति पुटिनले युक्रेनका पृथकतावादीको नियन्त्रणमा रहेका दुई क्षेत्र लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र देशको मान्यता दिएका थिए । त्यसपछि यहाँको स्थिति तनावपूर्ण छ ।

रुसले युक्रेनमा सैन्य कारवाही सुरु गरेको छ । राजधानी किभसहित विभिन्न ठाउँहरुमा मिसाइल आक्रमण भइरहेको छ । रुसले युक्रेनका सैन्य अड्डा र एयरबेसलाई निशाना बनाईरहेको जनाइएको छ । यहीबीच रुसले युक्रेनको एयर डिफेन्स सिस्टमसमेत ध्वस्त पारिदिएको दावी गरेको छ । रुसले आक्रमण सुरु गर्दै गर्दा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक पनि चलिरहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्