Logo

होलीको ५, ७ दिन अघिदेखि नै कलेज जान सक्दैनथ्यौंः सहरी विकास मन्त्री रामकुमारी झाँक्री



काठमाडौं, २४ फागुन । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विगत दुई दशकमा महिलाको राजनीतिक प्रतिनिधित्वमा अकल्पनीय परिवर्तन आएको दाबी गरेकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री झाँक्रीले भनिन्, “महिलाको हकमा केही पनि भएन भन्ने कुरा नकारात्मक र निराशाजनक अभिव्यक्ति हो । विगत २०, २५ वर्षमा सार्वजनिक जीवन र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्वमा अल्कपनीय परिवर्तन आएको छ । योग्यता, क्षमताले प्राप्त गर्ने भन्दा बढी अवसर आरक्षणका माध्यमले पाएका छन् । महिला हो, जे अन्याय गरे पनि हुन्छ भन्ने ठाउँबाट महिला पनि मानिस हुन्, समानताको हक चाहिन्छ भन्ने तथ्य स्थापित भएको छ ।”
समाजको पीँधमा रहेका महिलालाई अघि ल्याउने काम पनि क्रमशः हुँदै जाने उनले औंल्याइन् । मन्त्री झाँक्रीले भनिन्, “अहिले पनि वर्गविभेद, जातीय विभेद हटिसकेको छैन । तर समाजको पीँधमा रहेका महिलालाई अघि ल्याउने काम अघि बढ्दै छ । त्यो आकांक्षा कानुनमा मुखरित भएका पनि छन् । म आफ्नै उदाहरण दिन्छु । हामी पद्मकन्या क्याम्पसमा पढ्दा होली आउने ५, ७ दिनअगाडि नै कलेज जान सक्दैनथ्यौं । लोला हान्ने, जिस्काउने आदि दुर्व्यवहारका घटना हुन्थे । अहिले महिलाको मन्जुरी बिना त्यस्ता काम हुँदैनन् । इच्छाविपरीत आई कन्ट्याक्ट गर्दा पनि दण्ड दिने स्थिति आएको छ । यो सानोतिनो परिवर्तन त होइन नि ।”



प्रतिक्रिया दिनुहोस्