Logo

अफ्रिकामा चीनको प्रभाव रोक्न यूरोपेली यूनीयनको यस्तो कदम



एजेन्सी, ३० फागुन । अफ्रिकामा चीनको प्रभाव रोक्न पश्चिमा देशहरु सक्रिय भएका छन् । विशेषगरी यूरोपेली यूनीयनले कदमहरु चाल्न थालेका छन् ।

यूरोपेली यूनीयनले हालैमात्र अफ्रिकासँग दुई दिने सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनले यूरोपेली यूनीयनले अफ्रिकाका देशहरुलाई १७० अर्ब डलरको सहयोग प्रतिवद्धता जनाएको छ ।

चीनले अफ्रिकाका देशहरुलाई ठूलो ऋण सहयोग गरेको छ । कतिपय देशहरु ‘ऋणको जालो’ मा फसेको विषय पनि उठ्न थालेको छ । चीनको ऋणको जालोमा कस्ने कूटनीतिको संज्ञा दिन थालिएको छ ।

चीन अफ्रिका सहयोगसम्बन्धी फोरमको बैठक केही महिना अघि बसेको थियो । उक्त बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले अफ्रिकी देशहरुमा ४० अर्ब डलरको लगानीको प्रतिवद्धता जनाएका थिए । यो विगतमा चीनले जनाएको प्रतिवद्धता भन्दा निकै कम हो ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा चीनको ऋण सन् २०१६ को तुलनामा घटेर सन् २०१९ मा ७ अर्ब ६० करोड डलर थियो । तर, कोरोना भाइरसको भ्याक्सिनमा चीनले अफ्रिकालाई सहयोग नगरेको विषय पनि उठ्ने गरेको छ ।

अफ्रिकासँग चीनको बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले यूरोपको उपनिवेशको इतिहास समेत उल्लेख गरेका थिए । उनले बेल्ड एन्ड रोड इनिसियटिभमा समेत जोड दिएका थिए ।

चीनको अफ्रिकासँग गहिरिएको सम्बन्धप्रति यूरोपेली देशहरु सतर्क बन्न थालेका छन् । अफ्रिकाकामा यूरोपका फ्रान्स, बेलायत, जर्मनीलगायत देशहरुको प्रभाव रहँदै आएको छ । उनीहरुले हरित ऊर्जा, स्वास्थ्य पूर्वाधार, प्रकोप नियन्त्रणलगायतका क्षेत्रमा सहयोग घोषणा गरेका छन् । त्यसबाहेक डिजिटल कनेक्टिभिटी र नयाँ यातायातको सञ्जाल निर्माणमा पनि सहयोग गर्ने तयारी गरेको छ ।

यूरोपेली यूनीयनले झण्डै ७ अर्ब डलरको द्रुत गतिको सेटलाइट कम्युनिकेशन नेटवर्क स्थापना गर्दैछन् । यो अफ्रिकामा समेत समेटिने बताइएको छ । पछिल्लो समय यूरोपेली यूनीयनका अधिकारीहरुको अफ्रिकामा दौडधूप बढेको छ ।

यसैगरी, चीनले अफ्रिकाका तानाशाहहरुलाई साथ दिएको विषय पनि उठ्न थालेको छ । कतिपय तानाशाहहरुले इन्टरनेट र सामाजिक सञ्जालमाथि समेत प्रतिबन्धन लगाएका छन् । यसलाई पश्चिमा देशहरुले लोकतान्त्रिक मूल्यविरुद्ध भनेका छन् ।

चीनको पछिल्लो कदमपछि यूरोपेली देशहरुले डिजिटल सम्पर्क बढाउने कदमहरु समेत चाल्न थालेका छन् । चिनियाँ टेलिकम कम्पनी हुवावेले एशियालाई पूर्वी अफ्रिकासँग जोड्ने केबल आयोजना पूरा गर्दैछ । यसबाट यूरोपेली यूनीयन सतर्क भएको छ ।

अफ्रिकामा चीनको विकास आयोजनाहरुमा संलग्नता देखि ऋणको जालो फैलाएको विषयमा यूरोपेली यूनीयनको चासो बढ्दो छ । उसले त्यहाँ नयाँ आयोजनाहरु लाने क्रम सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot