एजेन्सी, १ चैत्र । म्यानमारको सैनिक शासकले प्रदर्शनमा उत्रने सर्वसाधारणमाथि बल प्रयोग गरिरहेको छ । यस क्रममा सयौंको ज्यान गएको छ ।
सैनिक शासकले बल प्रयोगका लागि चीनमा निर्मित हतियार प्रयोग गरिरहेको संयुक्त राष्ट्रसंघका विशेष रेपोटरले मानव अधिकार काउन्सिललाई बुझाएको रिपोर्टमा उल्लेख गरेका छन् । टम आन्ड्रिउको रिपोर्टमा म्यानमाको सैनिक कूपछि सर्वसाधारणमाथि प्रयोग गरिएको हतियार चीनको रहेको उल्लेख गरेका हुन् ।
स्वतन्त्र विज्ञले हतियार निर्यात गर्ने देशहरुलाई म्यानमारमा हतियार आपूर्ति नगर्न आग्रह गरेका छन् । म्यानमाको सैनिकलाई हतियारमा प्रतिबन्ध लगाउन समेत भनिएको छ । आन्ड्रीउको रिपोर्टमा म्यानमामा हतियार पठाउँदा सर्वसाधारणमाथि प्रयोग भइरहेको र गम्भीर परिणामहरु आइरहेको उल्लेख छ । जति विश्वले हतियार प्रतिबन्धमा ढिलाई गर्छ उति नै बढी सर्वसाधारण र केटाकेटी मारिने भन्दै ध्यानाकर्षण गराइएको छ ।
रिपोर्टमा चीन, रुस र सर्बियाबाट म्यानमारको जुन्टाले हतियार पाइरहेको उल्लेख छ । उनले यसलाई तत्काल रोक्न भनेका छन् । रिपोर्टमा म्यानमारमा कति हतियार कुन कुन देशले पठाए भन्ने तथ्यांक समेत उल्लेख छ । सन् २०१८ यता म्यानमारमा पुगेका हतियारको संख्या र प्रकारबारे तथ्यांक दिइएको छ ।
म्यानमारको जुन्टाले लडाकु विमान, बख्तरबन्द गाडीलगायत रुसबाट खरिद गरेको छ । थप हतियार खरिदको सहमति भइसकेको छ । एन्ड्रीउले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई कडा कदम चाल्न भनेका छन् ।