Logo

रुस युद्धमा केन्द्रित हुँदा मँगोलियालाई यसकारण चीनको चुनौती



एजेन्सी, २ चैत्र । रुस र युक्रेनबीचको युद्धले भूराजनीतिक चुनौतीहरु देखिन थालेका छन् । रुससँग सीमा जोडिएको मँगोलियाले चीनको चुनौती झेल्न थालेको छ ।

मँगोलियाको चीन र रुससँग सीमा जोडिएको छ । रुसको ध्यान युक्रेनमा केन्द्रित हुँदा मँगोलियालाई पूरा साथ दिन नसकिरहेकोले चीनको चुनौती बढेको रिपोर्टहरु आउन थालेका छन् ।

मँगोलियाको बेइजिङसँग दशौं जेटसुन्डाम्बाको विषयमा विवाद छ । उनी मँगोलियाका सबैभन्दा ठूलो बुद्ध धर्मगुरु लामा हुन् । बुद्ध धर्ममा दलाई लामा र पञ्चेन लामापछिको तेस्रो ठूलो धर्मगुरुका रुपमा दशौं जेटसुन्डाम्बालाई लिइन्छ । उनी बालक हुन् र मँगोलियामा बसेका छन् । तर, उनको अमेरिकी नागरिकता छ । ती बालकबारे अहिलेसम्म खुलाइएको छैन । सन् २०१६ मा दलाई लामाले मँगोलिया पुगी दशौं जेटसुन्डाम्बाको पहिचान भएको बताएर तरंग ल्याइदिएका थिए ।

बुद्ध धर्मका गुरुहरुको उलानबटारको बैठकले गत वर्ष दशौं दशौं जेटसुन्डाम्बाको घोषणा गर्ने निर्णय गरेको रिपोर्टहरु उल्लेख गरिएका छन् । तर, चीनले उक्त घोषणामा अवरोध खडा गरेको द हङकङ रिपोर्टले जनाएको छ । चीनले यस मामलामा आफ्नो चासो र प्रभाव देखाइरहेको छ । दशौं जेटसुन्डाम्बा घोषणाले भविष्यमा दलाई लामाको उत्तराधिकारी घोषणामा समेत असर गर्ने देखेर चीनले भूमिका बनाउन खोजेको बजनाइएको छ ।

रिपोर्टहरुका अनुसार बेइजिङले मँगोलियाको बुद्धमार्गीहरुमाझ प्रभाव बढाउन खोजेको मात्र नभई राजनीतिक नेतृत्व र सरकारसम्म प्रभाव बढाउन खोजेको उल्लेख छ । मँगोलियाको बुद्ध धर्मको मामलामा आफ्नो नियन्त्रण समेत कायम गर्न खोजेको बताइएको छ ।

मँगोलियामाथि तिब्बती धर्मगुरु दलाई लामालाई सघाउ पुग्ने क्रियाकलाप रोक्न चीनले आर्थिक क्षेत्रमा समेत दबाबमूलक कार्यहरु गर्दै आएको छ । उसले सन् २०१६ मा मँगोलियामाथि नाकाबन्दी नै लगाएको थियो । दलाई लामाले उक्त वर्ष मँगोलियाको भ्रमण गरी दशौं जेटसुन्डाम्बा पहिचान भइसकेको भनेका थिए । दलाई लामाको भ्रमणपछि मँगोलियामाथि चीन झन् कठोर रुपमा प्रस्तुत भएको थियो ।

चीनको चुनौतीको सन्तुलन कायम गर्न मँगोलियाले रुससँगको सम्बन्धलाई ध्यान दिने गर्छ । रुससँगको निकट सम्बन्धका कारण चीनले दबाब बढाउन नसक्ने अवस्था बन्दै आएको छ । तर, रुस युद्धमा केन्द्रित हुँदा मँगोलिया दबाबमा पर्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot