Logo

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं,२७ चैत्र । नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गरे ।

साथै उनले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई हस्तान्तरण समेत गरे । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र Nepal Medical Journal को समेत उनले लोकार्पण गरे ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरे । साथै भिजिटिङ कन्सल्टेन्ट डा. विकल घिमिरे तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत अर्थोपेडिक विभागलाई शिल्ड तथा प्रशंसापत्र र अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत उनले प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गरे । साथै कोभिड–१९ को संक्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी अस्पतालको विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उनले बताए ।

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot