भोजपुर, १६ बैशाख । नेपाली कांग्रेसको तर्फबाट भोजपुरको अरुण गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका शालिकराम खत्रीले बेरुजु र भ्रष्टाचार शून्य गाउँपालिका बनाउने उद्घोष गरेका छन् । उनले आफ्नो मुख्य लक्ष्य सार्वजनिक गर्दै अरुण गाउँपालिकालाई बेरुजु र भ्रष्टाचारमुक्त बनाउने बताए ।
’बेरुजुको नियन्त्रण र अन्त्य तथा प्रणालीबद्ध सञ्चालनको प्रतिबद्धता तथा आफ्नो गाउँपालिका भ्रष्टाचारमा शून्य बनाउने लक्ष्यसहित, चुहावट र ढिलासुस्तीको नियन्त्रण र जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व मेरा प्रमुख नारा रहने छ।’–अरुण गाँउपालिकाको अध्यक्षका उम्मेदवार खत्रीले भने ।
उनले यसलाई पूर्णता दिन अरुण गाउँ पालिकाका जनताको अमूल्य साथ र सहयोग खोजेका छन् । आफूलाई गाउँपालिकाको जिम्मेवारी दिए सम्पूर्ण अरुण गाउँपालिकाबासी दाजु–भाई, दीदी बहिनिको आशा र भरोसा निराशामा बदलीन नदिने खत्रीको बाचा छ । अरुण गाउँपालिका उठ्ने अन्य उम्मेदवारले निर्वाचन आचारसंहिता पालना नगरेकोप्रति लक्षित गर्दै उनले अघि थपे, ’आसन्न निर्वाचनको आचारसंहिता पूर्ण रुपमा पालना गर्छु। अरु उम्मेदवारहरुले पनि आचारसंहिता पालना गर्न आग्रह गर्दछु।’
सुशासन र जवाफदेहीताको पक्षमा उभिदै खत्रीले निर्वाचन आचारसंहिताको पालना गर्न सबैलाई आग्रह गरेका छन् । निर्वाचित हुनु अगाडिनै सुशासन र अनुशासन कायम गर्न कोशिस गरेका अध्यक्षका उम्मेदवार खत्रीले दिउँसोको संकेत बिहानीमा दिएको देखिन्छ । बेरुजु र भ्रष्टाचार, चुहावट र ढिलासुस्ती र जवाफदेहीहिनता, अपारदर्शिता र उत्तरदायित्व बहन नगर्ने परिपाटी रहेको बेला खत्रीले त्यसलाई पालना गर्ने प्रतिबद्धता अरुणबासी समक्ष व्यक्त गरेका हुन् ।