भारतका प्रधानमन्त्री नरेन्द्र मोदी व्यवहारवादी नेताका रुपमा विश्वभर परिचित भइरहेका छन् । उनले जुन देशसँग जुन कूटनीतिक शैली अपनाउनुपर्छ त्यही अपनाएका छन् । छिमेकसँग मोदीले इतिहास, धर्म र संस्कृतिलाई सम्बन्ध सुदृढीकरणको माध्यम बनाएका छन् ।
मोदीले २ वैशाखमा बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमण गर्ने तय भएको छ । यो दिन बुद्धि जन्मिएको, ज्ञान प्राप्त गरेको र निर्वाणा प्राप्त गरेको दिन पनि हो । त्यसैले यसको छुट्टै महत्व छ ।
मोदी सन् २०१४ मा प्रधानमन्त्री भएपछि चारपटक नेपाल भ्रमणमा आइसकेका छन् । २०१९ मा दोस्रो कार्यकालपछि मोदी पहिलोपटक नेपाल आउँदैछन् । यो उनको पाचौं नेपाल भ्रमण हुनेछ ।
लुम्बिनी सम्राट अशोकसँग पनि जोडिएको स्थान हो । अशोककै कारण बुद्धको ज्ञान समुन्द्रपारीसम्म फैलियो । बुद्धको ज्ञानबाट विश्वका धेरै नेता देखि महान व्यक्तिहरु प्रभावित भएका छन् ।
बुद्धको सिद्धान्तका मूल विषय अहिंसा, संयमता, मानवता र सहअस्तित्व हुन् । यही आदर्श विश्वभर प्रकाशसरी फैलियो । बुद्ध जन्मिएको लुम्बिनी नेपालमा र ज्ञान प्राप्त गरेको बोधगया भारतमा पर्दछ । यसकारण बुद्धको सिद्धान्तको उद्गमस्थल नै यो क्षेत्र हो ।
बुद्धको ज्ञान तिब्बत हुँदै चीन, पूर्वी एशिया सम्म मात्र फैलिएर वर्तमानमा विश्वभर फैलिइसकेको छ । बुद्धमार्गीहरु विश्वभर करोडौंको संख्यामा छन् । बुद्धको सिद्धान्तलाई मोदीले आफ्नो कूटनीतिक माध्यमका रुपमा पनि अपनाएका छन् । उनले बुद्धमार्गी रहेका देशहरुमा आफ्नो भ्रमणलाई प्राथमिकतामा राखेका छन् । यसपटकको लुम्बिनी भ्रमणमा पनि उनले बुद्धको जन्मथलोबाट महत्वपूर्ण सन्देश दिन खोजेका छन् ।
बुद्ध सर्किटको पुनः कल्पना पनि गर्न थालिएको छ । आठ दिनमा बुद्ध सर्किट घुम्न सकिने गरी भारतले रेल्वे लिंकको कार्यान्वयनमा ल्याइसकेको छ । जसमध्ये लुम्बिनीमा रेल पुगेको छैन । भारतले लुम्बिनीसम्म पनि रेल्वे लिंक बनाउने योजना अगाडि सारेको छ । यो लिंक लुम्बिनी, बोध गया, सारनाथ बनारस र कुशिनगर मुख्य रहेका छन् । नालन्दा र राजगिर जस्ता क्षेत्र पनि यसमा पर्दछन् ।
मोदीको लुम्बिनी भ्रमणले बुद्ध सर्किटको पुनः परिकल्पनालाई साकार पार्ने आधार खडा गर्ने विश्वास गरिएको छ । अर्कोतर्फ, नेपाल र भारतबीचको बुद्धमार्गी सिद्धान्तबाट सम्बन्ध अझ प्रगाढ हुने विश्वास पनि गरिएको छ । दुवै देशबीचको धार्मिक सम्बन्ध सुदृढ भई पर्यटन प्रवद्र्धन पनि हुनसक्ने आशा गरिएको छ ।-एजेन्सीको सहयोगमा