Logo

माधव नेपाललाई प्रकाश ज्वाला किन यति प्यारो, प्रचण्डसँग वारपारको अवस्था



काठमाडौं, १४ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले सिटको बाँडफाँट करिब करिब टुँगो लगाएको छ । केही सिटमा सहमति हुन नसकेपनि शीर्ष नेताहरुले त्यसलाई मिलाउने चर्चा छ ।

अहिले सत्ता गठबन्धनका मुख्य घटक दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच १ सिटका कारण फाटो आउन थालेको छ । गठबन्धनकै बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सल्यान आफ्नो दलले नपाए गठबन्धनबाट बाहिरिने चेतानवी दिने अवस्था सिर्जना भएको थियो । सल्यान ०६४ सालदेखि माओवादीले लगातार जित्दै आएको क्षेत्र हो । सो क्षेत्रबाट टेकबहादुर बस्नेत फेरि पनि उम्मेदवार बन्ने चर्चा छ ।

यता, माधव नेपालनिकट मानिने नेता प्रकाश ज्वालाले पनि सल्यानमा आफ्नो दाबी गरेका छन् । ज्वालाकै खातिर माधव नेपालले सल्यान आफ्नो पार्टीको भागमा नपरे गठबन्धन छोड्ने चेतानवी दिएका हुन् । कतिपयले ‘माधव नेपाललाई प्रकाश ज्वाला किन यति धेरै प्यारो ?’ भन्दै प्रश्नसमेत गर्न थालेका छन् । एमालेमा रहँदादेखि र एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठनसम्म सुरुवातदेखि नै ज्वाला माधव नेपालको पक्षमा चट्टानझैं उभिएका थिए ।

गठबन्धनको बैठकबाट फायर भएर माधव नेपाल निस्किएको कारण प्रचण्डले आज विहान उनीसँग छुट्टै भेटवार्तासमेत गर्नुपरेको थियो । दुई नेताबीच आज सल्यानकै विषयमा छलफल भएको बताईएको छ । माधव नेपालले त प्रचण्डलाई आफू अब कांग्रेसको पुच्छर नबन्नेसम्मको जवाफ दिएका छन् । नेकपाकालिन अवस्थादेखि नै प्रचण्ड र माधव नेपालबीच सुमधुर सम्बन्ध रहँदै आएको छ । अहिले सल्यानमा ज्वालाको मरिहत्तेका कारण यी दुई नेताबीच पानी बाराबार र वारपारको अवस्था सिर्जना भएको राजनीतिक वृत्तमा चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्