काठमाडौं, २७ असोज । आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि निर्वाचनमा भाग लिएका दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । सिरहामा पनि चुनावको सरगर्मी बढेको छ । सिरहामा चार वटा संघीय क्षेत्र छन् । जसमध्ये चासोको रुपमा हेरिएको सिरहा ४ मा यसपटक सत्ता गठन्धन र जसपा-एमाले गठबन्धनबीच रोचक भीडन्त हुने भएको छ ।
यो क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालबाट प्रभावशाी नेता तथा पूर्व सभासद डा. वीरेन्द्र प्रसाद महतो चुनावी मैदानमा छन् । उनलाई एमालेको साथ छ । यो क्षेत्र ०४८ सालदेखि नै कम्युनिष्ट गढको रुपमा परिचित छ । लामो समयदेखि देशको विकासमा टेवा पुर्याउँदै आएका प्रतिष्ठित व्यवसायी महतोको उम्मेदवारीलाई सो क्षेत्रका वासिन्दाले स्वागत गरिसकेका छन् । उनी संविधानसभाका सदस्य पनि भैसकेको व्यक्ति हुन् ।
अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. महतोले सो क्षेत्रको समग्र विकासको लागि पछिल्लो दशक सकारात्मक योगदान पुर्याउँदै आएका छन् । उनले यसअघि सो क्षेत्रबाट विजयी भएर गएका सांसदले मतदाताको हितमा काम नगरेको र विकास निर्माणको काममा सिन्को पनि नचाँचेकोले आफू जनताको मन जित्नको लागि चुनावी मैदानमा उत्रिएको बताउने गरेका छन् ।
सो क्षेत्रमा डा. महतोको परिवारले शिक्षा, स्वास्थ्य र बैंकिङ क्षेत्रमा ठूलो योगदान पुर्याएको छ । डा. महतो नेपालकै प्रतिष्ठित व्यवसायी एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको भाइ हुन् ।
सो क्षेत्रमा प्रतिनिधिसभाको लागि डा. महतोले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएसँगै कतिपय दलका नेता तथा कार्यकर्ताहरुले महतोलाई जिताउनुपर्ने भन्दै लविङ पनि थालेका छन् । सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगीना कुमार झा उम्मेदवार हुँदा नेपाल मजदुर किसान पार्टीबाट रामेश्वर साह, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) बाट धर्मनाथ प्रसाद साह उम्मेदवार रहेका छन् । साहलाई गठबन्धनको समर्थन रहेको छ भने जसपाका महतोलाई एमालेको समर्थन रहेको छ ।
यस्तै जनमत पार्टीबाट वीरेन्द्र प्रसाद साह, नेपालका लागि नेपाली पार्टीबाट प्रमोद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विजय यादव, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) बाट बिजय कुमार पजियार, नेपाल आमा पार्टीबाट तारा देवी भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल कुमार तिवारी उम्मेदवार रहेका छन् । यस्तै, स्वतन्त्रबाट राजेश कुमार यादब, अन्जनी राई, दिपेन्द्र राउत, जागेश्वर यादव, सुरेन्द्र कुमार ठाकुर, कासिन्द्र यादव, सन्त कुमार शर्मा, फुलगेन नायक र दिपक कुमार श्रेष्ठ उम्मेदवार रहेका छन् ।




प्रतिक्रिया