काठमाडौं, २१ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा शिक्षमन्त्री देवेन्द्र पौडेलले अहिलेको जनादेश नै गठबन्धनको सरकार बनाउने भएकोले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
उनले मुलुकलाई संकट पर्दा निकास दिने व्यक्ति नै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भएको उल्लेख गरे । उनले अध्यक्ष दाहालले पनि गठबन्धनकै निरन्तरताको कुरा गरेकोले यसबाट दायाँबायाँ नहुने जिकिर गरे ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘चाहे एसपिपीको विवाद होस, वा एमसिसीको विषय हो, चाहे भारत र चीनसँगको समस्या सुधारको विषय होस, चाहे सरकारको निकास दिने कुरा हो, प्रचण्डले नै नेतृत्व गर्नुभएको छ । प्रचण्ड त गतिशिल नेता हो ।’
उनले यसपटकको निर्वाचनमा प्रत्यक्षमा कम सिट उठ्दापनि १२ लाख मत आएको सुनाए । उनले प्रत्यक्षमा अपेक्षा गरेभन्दा कम सिट जितिएको स्मरण गराए । तर, माओवादी विघटनको संघारमा नपुगेको उनको जिकिर छ ।