काठमाडौं, १ पुष । जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित सांसद चित्रबहादुर केसीले आफ्नो दलले सत्ताको लागि कहिल्यैपनि बार्गेनिङ नगरेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केन्द्रीय राजनीतिमा आफूहरु कहिल्यैपनि निर्णायक नभएको स्पष्ट पारे । उनले नेपालमा संघीयता सञ्जिवनी बुटी नभएर विष बनेको आरोप लगाएका छन् । उनले आफ्नो दलले देश र जनताको अहितमा रहेको संघीय प्रणालीको पक्षमा सम्झौता नगरेको र भोलिका दिनमा पनि नगर्ने दाबी गरे ।
उनले देशमा पाँच वर्षको अवधिमा ठूलो संख्यामा मन्त्री बनाईएको र सेवासुविधा दिईएको सुनाउँदै यसले देशलाई ठूलो नोक्शानी गरेको आरोप लगाए । उनले संघीयता सबैलाई घाँटीको हाड भएको टिप्पणी गरे ।