Logo

हाम्रो बुझाइमा देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ : दीपक खड्का (भिडिओसहित)



काठमाडौं, ७ पुष । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले मुलुकको आवश्यकता, अनुभव र परिपक्वताका आधारमा शेरबहादुर देउवालाई संसदीय दलको नेता चुनेको बताएका छन् । ‘अहिले हामी एकमना सरकार बनाउने परिस्थितिमा छैनौं । गठबन्धनलाई नै साथमा लिएर हिँड्नुपर्ने साझा व्यक्तित्वको आवश्यकता छ । त्यसकारण सम्माननीय शेरबहादुर देउवालाई नै नेता छानेका हौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खड्काले भने ।

उनले पार्टी महामन्त्री गगन थापाले राजनीति जितेको पनि बताए । खड्काले थपे, ‘अहिले दलको निर्वाचनमा युवाले हारेको रुपमा अर्थ्र्याउन मिल्दैन । महामन्त्री गगन थापाले पनि जित्नुभयो । मत थोरै आउनु हार्नु होइन नि । त्यत्रा नेताहरु भएको पार्टीमा उहाँले आफ्नो हात समाउने नेतासँग प्रतिस्पर्धा गर्नुभयो । अंकगणित आफ्नो पक्षमा नभए पनि उहाँले राजनीति जित्नुभएको छ । भूमिका भनेको आवश्यकताका आधारमा तय हुँदै जान्छ ।’

शेखर कोइराला उठेको भए गगनको भन्दा धेरै मत आउने पनि उनले औंल्याए । खड्काले भने, ‘शेखर दाइ नउठेपछि गगनको भोट स्वतः कम हुन्थ्यो । शेखर उठेको भए ३५ प्लस हुन्थ्यो होला । शेरबहादुर देउवाको ठाउँमा अरु आएको भए पनि उसको मत पनि कम हुन्थ्यो ।’ मन्त्री बनाउने आश्वासन पाएर शेरबहादुर देउवालाई आफूले भोट नहालेको पनि उनले बताए । खड्काले भने, ‘गगनलाई भोट हाल्ने मन्त्री नहुने, शेरबहादुरलाई भोट हाल्ने मन्त्री हुने हुन्छ र ? मन्त्री त आवश्यकता अनुसार जो भए पनि पार्टीकै साथीहरु हुने हो ।’

ठूलो दलको नेता हुनुको नाताले शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने पनि उनले बताए । खड्काले थपे, ‘शेरबहादुर देउवा र प्रचण्डबीच केही सहमति छ भने कार्यान्वयन गर्नुहुन्छ होला । अन्यथा हाम्रो बुझाइमा देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्