Logo

संसद् प्रतिपक्षविहीन भइसक्यो- भीम रावल (भिडियोसहित)



काठमाडौं, २९ पुष । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले अहिले संसद् प्रतिपक्षविहीन भएको टिप्पणी गरेका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै रावलले नेपाली कांग्रेसजस्ता दलहरुले प्रतिपक्षको भूमिका ननिभाएर राजनीतिको मूल्य मान्यतालाई तिलाञ्जली दिएको बताएका हुन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्छु भन्नु द्वैद्व चरित्र भएको उनको टिप्पणी छ । ‘नेपालको संविधान बमोजिम प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने नेपाली कांग्रेसजस्ता देशका ठूला दलहरुले राजनीतिमा मूल्य, मान्यतालाई तिलाञ्जली दिएपछि प्रतिपक्ष रहने कुरै आएन । कांग्रेस प्रतिपक्षमा बस्छु भन्नु द्वैद्व चरित्र र घोर अवसरवाद हो,’ उनले भने ।

साथै, अहिलेको अवस्थामा देशमा कुनै शंकट नरहेको र राष्ट्रिय सहमतिको सरकारको आवश्यकता नभएको उनको दाबी छ । नेपालको संविधानको कुनै धारामा पनि राष्ट्रिय सहमतिको सरकारका बारेमा उल्लेख नै नभएको उनले बताए । नेपाल संविधान निर्माण र शान्ति प्रकृयाका कामहरु पुरा गर्ने चरणमा रहेको बेलामा राष्ट्रिय सहमतिको सरकार आवश्यक भएपनि अहिलेको अवस्थामा यसको कुनै औचित्य नरहेको उनको दाबी छ । ‘राष्ट्रिय सहमतिको सरकार २०६३ को अन्तिरिम  संविधान भएको बेलामा नेपाल संविधान निर्माण र शान्ति प्रकृयाका कामहरु पुरा गर्ने चरणमा थियो । संविधानमै राजनीतिक दलको सहमतिबाट काम गर्ने भन्ने लेखिएको थियो । त्यतिबेला राष्ट्रिय सहमतिको सरकारको कुरा हो । अहिले के को राष्ट्रिय सहमतिको सरकार ? संविधानको कुन धारामा लेखिएको छ ?’ उनले प्रश्न गरे ।

नेपालको संविधानले संसदमा प्रतिपक्षविहीनताको परिकल्पना पनि नगर्ने र कांग्रेसले प्रतिपक्षमा बस्ने नैतिक धरातल गुमाइसकेको रावलले बताए । नेपाली कांग्रेसका नेताहरुले केपी ओलीले फेरी संसद विघटन गर्न सक्ने भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दियौं भन्नु झुटको खेल भएको उनको तर्क छ । कुनै दलको स्पष्ट बहुमत नआएकाले संविधानको धारा ७६ (२) बमोजिम अहिलेको सरकार बनेको र अझै संविधानको धारा ७६ को ३,४, ५ को अभ्यास बाँकी नै रहेकाले कांग्रेसले हल्ला फिँजाएजस्तो संसद विघटन हुन नसक्ने उनको दाबी छ । नेपालको राजनीतिमा अहिले बाँडीचुडी खाने प्रवृत्ति बढेको उनले बताए ।

फरक प्रशंगमा उनले देशको गृहमन्त्री आफैं नागरिकता विवादमा रहेको बेलामा प्रहरीलाई निष्पक्ष छानविन गर्न भन्छु भन्नु पत्याउन नसकिने बताए । ‘कानुनमा एउटा सिद्धान्त छ, न्यायधीशले पनि आफ्ना साथीभाई, नातागोता र स्वार्थ बाझिने मुद्धा आयो भने मुद्धा प्रभावित हुन्छ भनेर हेर्न मिल्दैन । देशको गृहमन्त्री नै नागरिकता विवादको अदालतमा मुद्धा छ, म प्रहरीलाई निश्पक्ष छानबिनका लागि भन्छु भन्नु पत्याउनु हुन्छ तपाई ?’ उनले प्रश्न गरे । अहिले नेपाली राजनीतिमा चटके प्रवृत्तिले प्रश्रय पाएको उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot