काठमाडौं, ३० पुष । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले अहिले नेपालको कम्युनिष्ट आन्दोलन विकृति र विसंगतिबाट प्रभावित भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दे उनले विकृति र विसंगतिबाट प्रभावित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु आजको आवश्यकता भएको बताएका हुन् । घनश्याम भुसाललाई पार्टीमा ल्याउन आफ्नो सबैभन्दा बढी मेहनत रहेको बताउँदै उनले धनश्यामलाई पार्टीमा महासचिव बनाउने र आफू पार्टीको जिम्मेवारीबाट बाहिरिने बारेमा कुनै सत्यता नरहेको समेत बताएका छन् ।
उनले अहिले देशको कम्युनिष्ट आन्दोलन विभाजित रहेको र त्यसलाई एकीकृत गर्दै लैजाने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधान खारेज गर्नका लागि प्रतिनिधिसभा विघटन गरेको भुसालको आरोप छ । ओली आफ्नो स्वार्थ पुरा गर्नका लागि जे पनि गर्ने पात्र भएको उनको दाबी छ । ओलीलाई आफ्नै अहङ्कारले जलाइरहेको पनि उनले बताए । संसदमा करिब दुई तिहाइ नजिकको हैसियतमा रहेको सरकारले काम गर्न नसकेको उनले टिप्पणी गरे । अल्पमतको सरकार भएपनि २०५१ सालको मनमोहन नेतृत्वको सरकारले जनताको पक्षमा काम गरेको तर ओली नेतृत्वको दुइतिहाइ नजिकको सरकारले कुनै काम गर्न नसकेको उनले दाबी गरेका हुन् ।
‘जतिबेला करिव दुईतिहाइको संसदको हैसियतमा रहेको सरकार थियो, त्यो सरकारले हो काम गर्नुपर्ने । संसदमा करिव दुईतिहाइ संख्या भएको सरकारले काम गर्न नसक्नु सबैभन्दा ठूलो कमजोरी हो । कमजोर सरकारले त के गर्छ ? बरु अल्पमतमा भएपनि २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले केही काम गरेको सबैले मान्छन्,’ उनले भने । यसअघिका सरकारले आफ्ना कामहरु गरेको दाबी गर्दै उनले संविधान निर्माणपछि केपी ओली नेतृत्वको बलियो सरकारले काम गर्न नसकेको आरोप लगाए । ‘संविधान बनाउनले बेलाका सरकारले काम गरेकै मान्नु पर्छ । शन्ति प्रकृया टुंग्याउने बेलाको सरकारको मूल काम त्यही नै थियो काम गरेकै मान्नु पर्छ । तर संविधान निर्माण पछिको निर्वाचनबाट आएको बलियो सरकारले काम गर्न सकेन । त्यसपछि देश जता जानुपर्ने थियो त्यता जान सकेन,’ उनले भने ।
एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कुनै स्वार्थ नराखी विश्वासको मत दिएको भुसालले बताए । एकीकृत समाजवादी एमालेसँग एकता वा विलयको पक्षमा छ भनेर भ्रम फैलाइएको उनको आरोप छ । बरु केपी ओलीलाई घनश्याम भुसालको झै एकीकृत समाजवादीमा स्वागत गर्न आफूहरु तयार रहेको उनले बताए । ‘केपी ओली जीलाई हामी हाम्रो पार्टीमा वेलकम गर्छौं नि । जसरी आज हामीले घनश्याम जीलाई स्वागत गर्यो । त्यसैगरी पार्टीका सबै आउनुस् हामी स्वागत गर्छौं,’ उनले भने ।
साथै, एमाले अध्यक्ष ओली जेलबस्दा देखिको साथी भएको स्मरण गर्दै भुसालले उनले गलत गरेकाले उनको विरोध गर्नु परेको बताए । ओलीले देश र जनताको लागि राम्रो काम गर्न नसकेको दाबी गरे । पूर्वप्रधानमन्त्रीहरु मनमोहन र वीपी कोइरालाको कामको स्मरण गर्दै उनले देउवा र ओली पटक–पटक प्रधानमन्त्री बनेपनि सम्झन लायक केही काम गर्न नसकेको उनको आरोप छ ।