काठमाडौं, ३ माघ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री मणि थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको समीकरण सुखद भएको बताएका छन् ।
‘एमाले र माओवादी केन्द्रबीचको समीकरणलाई सुखद नै भन्नुपर्छ । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । ओली र प्रचण्डले नेकपा विभाजनको गल्ती स्वीकार गर्न नचाहे पनि सारमा एकले अर्काको आवश्यकता महसुस गरेको भन्ने मलाई लाग्छ । नेकपा फुटिसकेपछि देशमा राजनीतिक अस्थिरता र अराजकता सिर्जना हुनुको जिम्मेवारी नलिए इतिहास फेरि दोहोरिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।
उपेन्द्र यादव त सरकारबाहिर रहने हुनुभयो नि भन्ने प्रश्नमा नेता थापाले थपे, ‘विचार नमिल्दा नमिल्दै पनि सत्तामा जानुपर्छ भन्ने नेपालको राजनीतिको विचलनवादी चरित्र हो । उपेन्द्र यादव सधैं सत्तामा किन जानुपर्यो ? गणित पुगे त भइहाल्यो नि । उपेन्द्र यादव सरकारमा गइहाल्नुपर्छ भन्ने के छ र ? कहिलेकाहीं प्रतिपक्षमा बस्दा हुन्छ नि ।’
राष्ट्रिय सहमतिको सरकार बनाउने प्रचण्डको पहल सही भएको पनि उनले टिप्पणी गरे । थापाले भने, ‘अहिले प्रमुख दलहरुबीच राजनीतिक भिन्नता देखा परेन । एकप्रकारले वेस्ट मिनिस्टर सिस्टम फेल भैसक्यो । प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र मन्त्री भागबन्डाको राजनीति असफल भइसक्यो । भागबन्डाको राजनीतिबाट टाढा बसेर राष्ट्रिय रुपमा सबैलाई मिलाएर लानु नै आजको प्रगतिशील धार हो । अब डेन्टिङ पेन्टिङ मात्र गरेर चल्दैन ।’