काठमाडौं, ४ माघ । जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खान पदभार ग्रहण गर्न नजाने भएका छन् । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सो क्रममा उनले यसअघि उद्योगमन्त्री बनाउने भनेर गरेको सहमतिविपरित खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए ।
प्रधानमन्त्रीको उक्त निर्णयबाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बिच्किएका छन् । राउतले आफ्नो दललाई हेपिएको भन्दै हिजै पार्टीको हाई–कमाण्डको बैठक राखेका थिए । सो क्रममा उनले आफ्नो दलले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिनेसम्मको चेतावनी दिएका छन् । आफ्नो पार्टीबाट मन्त्री नियुक्त भएका खानलाई उनले मन्त्रालय नजान भनेका छन् ।
उद्योग वा सहरी विकासमध्ये एक मन्त्रालय नदिए सरकारबाट बाहिरिने जनमतको चेतावनी छ । स्रोतका अनुसार राउतले खानेपानी मन्त्रालयमै चित्त बुझाउनुपर्ने हो भने अर्को मन्त्रालय पनि चाहिने सन्देश बालुवाटार पुर्याएका छन् । प्रधानमन्त्री दाहालसँग अहिले वन तथा खेलकुद मन्त्रालय छ ।
यी दुईमध्ये एक मन्त्रालय जनमतलाई दिनुपर्ने उसको अडान छ । प्रधानमन्त्री दाहाल भने यी मन्त्रालयमा जसपालाई सहमतिमा ल्याउनेगरि छलफलमा जुटेका छन् । जसपाले उपराष्ट्रपति पाए यी मन्त्रालय लिएर सरकारमा जाने सम्भावना पनि उत्तिकै रहेको स्रोतको दाबी छ ।
file photo/ReportersNepal