काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद प्रदीप यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले सिंगो मधेसको अवलेहना गरेको आरोप लगाएका छन् ।
‘जसपा ओली र प्रचण्डको भातृसंगठन पनि होइन, कारिन्दा पनि होइन । दुइटा मन्त्री लिएर हामी सरकारमा जाँदैनौं । यो कुरा हामीले ओली र प्रधानमन्त्रीलाई प्रस्ट रुपमा भनिसकेका छौं । मधेसप्रतिको अवहेलना जनताले बझुेका छन् । हामी प्याकेजमा पावर सेयरिङ भए मात्र सरकारमा जान सक्छौं । अहिले हामी छलफलमा छौं । जसपाले सही समयमा सही डिसिजन गर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
राष्ट्रपति, उपराष्ट्रपति पदमा कसैलाई मत दिनेभन्दा पनि जसपा आफैंले उम्मेदवारी दिन सक्ने पनि उनले संकेत गरे । यादवले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति पदमा कसलाई मत दिने भन्ने हामी निर्णय गरिसकेका छैनौं । हामी आफैं पनि उम्मेदवारी उठाउन सक्छौं । मधेसका मुद्दा र अधिकारमा ओली, प्रचण्ड र देउवाको असंवेदनशीलता हामीले बुझेका छौं ।’
रवि लामिछाने र राजेन्द्र लिङ्देन संघीयताविरोधी भएको आरोप पनि उनले लगाए । सांसद यादवले भने, ‘संघीयताविरोधीको जमात छ सरकारमा । रवि लामिछाने र राजेन्द्र लिङ्देन कहाँ जानुहुन्छ, के गर्नुहुन्छ समय आएपछि थाहा हुन्छ । रवि लामिछानेको ठाउँमा मधेसको साह, झा, थारु, यादव, कर्मुी तेली भएको भए के हुन्थ्यो ? अहिले पनि उहाँ नेपाली होइन, अमेरिकन नागरिक हो ।’
नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको सम्भावना शून्य रहेको पनि उनले बताए । यादवले थपे, ‘वार्ता जारी छ । तर एकीकृत समाजवादीसँग एकता असम्भव छ । हाम्रो पार्टी विगतका दिनमा धेरै पार्टीसँग एकता गरे पनि खासै प्रगति भएको छैन । अब कसैसँग एकताभन्दा पनि संगठन नै बलियो बनाउन लाग्नुपर्छ ।’ एकीकृत समाजवादी लगायतका दलहरुसँग मोर्चा भने बन्न सक्ने उनले औंल्याए ।