Logo

देउवाले प्रचण्डसँग राष्ट्रपतिको लागि रामचन्द्रको नाम लिए, ओली महन्थ र अशोक राईसँग छलफलमा



काठमाडौं, ५ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । खासगरी राष्ट्रपतिकै निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुष १० गते प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवासमा राष्ट्रपति एमालेले पाउने सहमति भएको चर्चा छ ।

तर, उक्त सहमतिबाट प्रधानमन्त्री दाहाल ब्याक भएको एमाले नेताहरुको गुनासो छ । दुवै दलका दोस्रो तहका नेताहरुले भने पुष १० गतेको सहमति कार्यान्वयन हुनुपर्ने आवाज उठाएका छन् । २६ पुषमा प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिने बेला कांग्रेसको पनि मत पाएपछि उनले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोजिने बताउन थालेका छन् ।

तर, दाहालको राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटानबाट रुष्ट छ । हिजो (बिहीबार) मात्रै एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई घण्टा लामो छलफल गरेका थिए । सो छलफल राष्ट्रपतिको निर्वाचनमा केन्द्रित थियो । दुवै नेताले गठबन्धन बचाउनको लागि अधिकतम प्रयत्न गर्ने बताएका थिए । ओलीले राष्ट्रपतिमा एमालेले अघि सार्ने उम्मेदवारको नाममा सहमति हुनुपर्ने अडान दोहोर्याएका थिए भने प्रचण्डले भने कांग्रेसलाई पनि स्विकार्य हुने व्यक्ति खोज्नुपर्ने अडान लिएका थिए ।

दुवै नेता आफ्नो अडानबाट ब्याक नभएपछि राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दिनुअघि नै सत्ता गठबन्धन धरापमा परेको आँकलन गरिएको छ । प्रधानमन्त्री दाहाललाई पनि कुनैपनि हालतमा एमालेलाई राष्ट्रपति नदिन पार्टीभित्रैबाट दबाब छ । माओवादी केन्द्रका अधिकांश नेताहरु एमालेलाई राष्ट्रपति दिईए अढाई वर्षपछि एमालेलाई नै सत्ता हस्तान्तरणपछि माओवादीलाई अप्ठ्यारो पर्ने तर्क गर्छन् । उनीहरु बरु कांग्रेससँग सहकार्य गर्दा सहज हुनेमा पुगेका छन् ।

चुनावमा पनि कांग्रेससँगै गठबन्धन गरेकोले त्यसरी जाँदा प्राकृतिक हुने उनीहरुको भनाई छ । यो बीचमा प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भेटवार्ता गरेका छन् । सो भेटवार्तामा राष्ट्रपतिको निर्वाचनको लागि सम्भावित उम्मेदवारको बारेमा छलफल भएको थियो । देउवाले आफ्नो दलबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नै उम्मेदवार हुने बताएका थिए ।

प्रधानमन्त्री दाहालपनि पौडेलप्रति सकारात्मक छन् । सुरुदेखि नै उनले पौडेलसँग यो विषयमा छलफल गरेको पाईएको छ । उता, एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवारलाई रोक्न खोजे वा सहमति हुन नसक्ने हो भने साना दलका नेतालाई अघि सार्ने रणनीति अख्तियार गरेका छन् । त्यसको लागि उनले एक चरणमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल पनि गरिसकेका छन् ।

ओलीको वचन पाएपछि ठाकुरले पनि आफूलाई सक्रिय बनाएका छन् । ओलीले जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईको पनि नाम लिन थालेका छन् । उनले राई एमालेकै पूर्व नेता भएको कारण उनलाई राष्ट्रपति बनाउँदा राम्रो सन्देश जाने निश्कर्ष निकालेका छन् । अहिले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली राष्ट्रपतिको निर्वाचनलाई लिएर आ–आफ्नै रणनीति बनाउन सक्रिय छन् । file photo



प्रतिक्रिया दिनुहोस्