Logo

जय साहको खोज : नेपाललाई विश्वगुरू बनाउने सोच



नेपाल पौराणिककालदेखि धेरै कुराले विश्वसामु सुपरिचित छ । गौतम बुद्घ, सगरमाथा, गोर्खाली वीरता, हिमवत्खण्ड, विभिन्न दुर्लभ वन्यजन्तु तथा पशुपक्षी, पाशुपतक्षेत्र, ऋषिभूमि, आदिम ज्ञानभूमि आदि/आदिले नेपालको गाथा र महत्ता चुलिएको हो । तर पछिल्लो समयमा आएर गरिबी, अज्ञानता, असमानता, भ्रष्टाचार, अपराधजन्य कर्मलगायतका सामजिक कुरीतिमा पनि नेपाल लगभग अग्रस्थानमा नै देखिन्छ । यी सबैको प्रमुख कारणचाहिँ विद्यमान सामाजिक संरचना र जातीय बनौटको अवैज्ञानिक अभ्यास हो । त्यसैकारण सामाजिक बनौटको नयाँ अवधारणा प्रस्तुत गरी जय साहले नेपालको सकारात्मक तथा प्रभावी पहिचान र परिचयलाई झन लोकप्रिय बनाउने संकल्प एवं साहस व्यक्त गर्दैछन् । लेखक साहको प्रकाशनोन्मुख पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’मा प्रक्षेपित कल्किवादको अवधारणा नेपालको नयाँ विश्वव्यापी पहिचानका लागि कोसेढुंगा बन्ने निश्चित देखिन्छ ।

पछिल्ला राजनीतिक तथा अर्थसामाजिक परिवेशलाई प्रजातन्त्रवाद, साम्यवाद, समाजवाद, उदारवाद भनिएजस्तै साहद्वारा प्रतिपादित कल्किवाद एउटा नवीन र नवप्रवर्धनात्मक विचारधारा हो । समाजको अविच्छिन्न उन्नयन र सकारात्मक परिवतनको लागि कल्किवादले आम मानिसको चेतना अनि आचरणगत सुधारमार्फत परिवर्तनको मार्गचित्र पस्कन्छ । कल्किवादले कलियुगको अन्त्य गर्दै समाजलाई सत्ययुगको जस्तो अलौकिक विशेषता र अनुपम आदर्शमा फर्काउनेछ । तर कसैको सम्पत्ति जफत गरेर, अरूमाथि दबाव बढाएर, अवैध तवरले अरूको पहिचान मेटाएर होइन– मानवको जीवनयापनअनुसारको पहिचान दिएर समाजलाई रूपान्तरण गरिनेछ । यसका लागि नमशैतान अभियान सुरू हुनेछ ।
नमशैतान अभियान

एउटा मानिसले अर्को मानिसलाई नमस्ते भनेर अभिवादन गर्नुको मतलब त्यो मानिसभित्र विराजमान ईश्वरलाई नमन गर्नु हो । नमशैतानको अर्थचाहिँ शैतानलाई नमन भन्ने लाग्छ । हाम्रो समाजलाई अधोगतिमा धकेल्ने, असमानता बढाउने, विभिन्न द्वन्द्वमा फसाउने, नागरिक विभाजन र द्वेष गराउने अवस्थामा लैजाने मानिसमा ईश्वर नभएर शैतानको आचरण विराजमान हुन्छ– ती मानिस नै म्लेच्छ हुन् । तिनै म्लेच्छले समाजलाई विध्वंस–उन्मुख बनाउँछन् ।

हिन्दू समाजमा गौमाताको मांसाहार गर्ने, छुवाछुत र जातीय भेदभावको खेती गर्ने, धनी एवं गरिबबीचको असमानतालाई समर्थन गर्ने, सगोत्रमा र बहिनीसँग विवाह गर्ने, मानिसलाई पशुवत् व्यवहार देखाउने यी सबै म्लेच्छमा गणना हुन्छन् । समाजमा अवस्थित राम्रा व्यवस्था, वैज्ञानिकता एवं समाजलाई अझै सुधारोन्मुख र प्रगतिवादी बनाउने उद्देश्यले प्रतिपादित नयाँ अवधारणाको विरोध गर्ने सबै मानिस म्लेच्छ हुन् । उनीहरूको आवरण र आचरण दुवै परिवर्तन हुनु जरूरी छ ।

नमशैतान अभियानले आम मानवलाई जागृत गर्नेछ । यसले समाजमा सकारात्मक परिवर्तन चाहने र नचाहने दुई फरक समूहलाई छुट्याउने छ । कल्किसेनाले कल्किवादको लोगो राखेको झण्डा तथा हातमा लगाउने ब्यान्ड बनाएर वितरणसमेत गर्नेछन् । कल्किवादको समर्थन गर्ने सबै घरका ढोकामा कल्किसेनाको लोगो र आकृतिसमेत राखिएको हुनेछ ।

कल्किसेनाको प्रतिमा अथवा आकृति राख्नलाई कोही पनि मानिसले सामाजिक कुरीतिका कुनै पनि कुरालाई स्वीकार नगर्ने र त्यसलाई पूरै त्याग गर्ने प्रतिबद्घतासँगै स्पष्ट अभ्यास पनि गरेको हुन्छ । कल्किसेनाका आकृति नभएको घरलाई बाँकी समाजले सुधार तथा परिवर्तन नरुचाएको पक्षको रूपमा बुझ्ने सम्भावना रहन्छ । तसर्थ सबैलाई आचरणगत सुधार अनिवार्य गर्न र कल्किसेनाको आकृति राख्न अनुमति पाउने गरी काम गर्न नैतिक दबाव महशुस हुन्छ । कल्किसेनाको कुनै सदस्यले अर्को कल्किसेना वा सदस्य भेट्दा नमस्ते अथवा नमस्कार भनेर सादर अभिवादन गर्नेछन् भने म्लेच्छ भेट्दाचाहिँ हात उल्टो फर्काएर नमशैतान भनेर सम्बोधन गर्नेछन् ।

कल्किवादको अवधारणा
कल्किवादमार्फत सबै नागरिकको समान क्रयक्षमता र समान खुसीपन कायम हुनेछ । श्रम र सामानलाई समयको आधारमा समानता कायम गरिनेछ । व्यावसायिक घराना, नाफाघाटा, बैंक, बजार अड्डाजस्ता कुनै पनि कमिसनमुखी संस्था हुनेछैनन् । उत्पादन, भण्डारण र वितरणमात्रको अभ्यास हुनेछ । नागरिकलाई दिने सेवा र सेवाकर्मीलाई राज्यले पारिश्रमिक रुपैयाँको सट्टा समयको गणनाको रूपमा भुक्तान गर्नेछ । पैसाविहीन समाजमा एउटामात्र जागिरदाता कम्पनी हुनेछ र त्यसमा सरकारको पूर्ण स्वामित्व रहनेछ ।

सबैको समान तलबमान कायम हुन्छ । काम र तलबमान समयका आधारमा समान स्तरले निर्धारण हुनेछन् । मानौँ अहिले कुनै सामानको दाम चार हजार छ भने त्यसको मूल्यांकन चार घण्टा हुनेछ । मानौँ कसैले महिनाको एक लाख आम्दानी गर्छ भने उस्को मापन एक सय घण्टा हुनेछ । काम र सामान दुवैको मापन सेकेन्ड अनि मिनेट हुँदै घण्टामा हुनेछ ।

अहिले डाक्टर पढ्न मानिसले करोडौँ खर्च गर्नुपर्छ । कल्किवादमा भने कसैले केही पढ्न पनि खर्च गर्नुपर्दैन । यद्यपि उक्त विषय अध्ययन गरेबापत सरकारले घण्टाको रूपमा मासिक तलब भुक्तान गर्नेछ । मानौँ कि डाक्टर पढ्न महिनाको दुई सय घण्टा अध्ययन आवश्यक पर्छ भने सरकारले इच्छुक विद्यार्थीलाई दुई सय घण्टा समय तलबस्वरूप प्रदान गर्नेछ । समाजको गहन शोधमार्फत लेखकले यसको सविस्तार अवधारणालाई पुस्तकमा समावेश गरेका छन् ।

अहिलेसम्मका सबै आर्थिक विचारधारा पँुजीवाद, साम्यवाद तथा समाजवाद असफल प्रमाणित भइसकेका छन् । उनीहरूले समाजमा विभेद, वर्ग र आपसी द्वेष भरेका छन् । कल्किवादमा आधरित आर्थिक प्रणाली यसको विकल्पसमेत बन्नेछ, समतामूलक सद्भाव सदाचारी र सहअस्तित्वको समाज निर्माण हुनेछ । यस अभियानको लागि सत्ययुग समाज पार्टी स्थापना हुनेछ ।

सत्ययुग समाज पार्टी
यसले समाजमा सत्ययुगको जस्तै सदाचार, भाइचारा, खुसी, शान्ति, इमान, वैभव कायम गर्न सबैलाई उत्प्रेरित गर्नेछ । अहिले नेपालमा भएका कुनै पनि दल वा तिनका कोही पनि सदस्यसँग देशको निर्माणको लागि यस्तो वैज्ञानिक सोच र मार्गचित्र नभएको अनि लेखकद्घारा प्रस्तुत अवधारणालाई बुझ्ने र अभ्यास गर्ने बौद्घिक क्षमतासमेत नभएको लेखकको आत्मविश्वस छ । त्यही भएर लेखकले समय सान्दर्भिक एउटा नयाँ राजनीतिक संगठनको खाका प्रस्तुत गरेका छन् ।

यो पार्टी अतिशिक्षित, योग्य, विशिष्ठ, शिष्ट र नवीन उद्यमशीलताले सुसज्जित मानिसहरूले भरिएको हुनेछ । योग्यता, विज्ञता, दक्षता, संकल्प तथा उद्यमशीलतालाई शिरोपर गरेका व्यक्तिमात्र यसको सदस्य अनि अनुयायी हुनेछन् । भिड, भाषणबाज र जेलनेलको अनुभवको सट्टामा विज्ञता र पेशागत अथवा क्षेत्रगत विशिष्टता यसका सदस्यको पहिचान हुनेछ । सम्बन्धित क्षेत्रमा आवश्यक योग्यता भएकालाई मात्र जिम्मेवारी र अपेक्षित कार्यसम्पादन गर्न सक्दामात्र जिम्मेवारीको पुनर्करार हुनेछ । यसका हरेक सदस्यसँग आफ्नो क्षेत्रका लागि न्यूनतम एक नवप्रवर्धनात्मक उपाय हुनुपर्नेछ ।

वााणिज्य, व्यवस्थापन अथवा इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरेका व्यक्तिमात्र यस दलमा समाहित हुनेछन् । हरेक राजनीतिक पदमा यस्तो योग्यता र विज्ञता भएका मात्रलाई निर्वाचित गरिनेछ । व्यावसायिक पक्षको ज्ञान र अभ्यास दुवैले सुसज्जित भएका व्यक्तिको नेतृत्व, पदसोपानरहित समाजको पक्षधर, जातीय वर्गीय र महिला समानताको प्रखर ज्ञाता, पैसारहित समाजको प्रखर ज्ञाता यसका सदस्य बन्नेछन् ।

विशेषतः कुनै पनि राजनीतिक दल वा आस्थामा समाहित नभएको मानिसलाई यस अभियानमा सहभागिताको लागि स्वीकार्यता नहुन पनि सक्छ । विपन्न र विकट क्षेत्रमा कार्यालय वा कार्यक्षेत्र तर अति शिक्षित तथा अति दक्ष सदस्य यसको मौलिकता रहनेछ । निर्वाचन चिह्न, दलको नाम, उनीहरूको सिद्घान्त होइन कि सत्यवादी सदस्यको क्षमता, कार्यशैली, योग्यता र कार्यसम्पादन कौशल मुख्य कुरा रहनेछ । मूलतः यो मेरिटोक्रेटिक (योग्यतामा आधरित प्रणाली) बन्नेछ ।

उनीहरूले समान प्रकृतिका गुण समाजका अन्य सबैलाई विस्तार गर्नेछन् । पूरै समाजलाई त्यसैगरी सिञ्चित गर्नेछन् । कर्मअनुसारको फल र पहिचान नै यसको मुख्य ध्येय हुन्छ । मान्छे कर्मप्रति उद्यत रहन्छ । कर्ममा विश्वास गर्छ र सकारात्मक मनोभाव निर्माण हुन्छ ।

नेपालले अभ्यास गरेको नयाँ प्रणालीले देशको सामाजिक तथा सांस्कृतिक पारस्परिकता तथा प्रगतिमा नयाँ कीर्तिमान कायम गर्नेछ । संसारका सबै देश समान अभ्यास अनुशरण गर्न लालयित हुनेछन् । विश्वका अन्य धर्मावलम्बीसमेत यस्तो अभ्यासका लागि उत्सुक र इच्छुक बन्दै जानेछन् । नेपाल त्यसको मानक देश बन्नेछ वा विश्वगुरू हुनेछ । बुद्घको सन्देश जसरी संसारभर विचरण भयो– त्यसरी नै कल्किवादको सन्देशले विश्वलाई नयाँ विचार र मार्ग दिनेछ ।

नेपालमा समय/समयमा बीआरआई र एमसीसीका लागि द्वन्द्व भएको सुनिन्छ । कल्किवाद यस्तो एउटा परियोजना पनि हो– जसलाई यी दुवै देशले पूर्ण समर्थन तथा सहयोग गर्नेछन् र कुनै पनि शर्तमा सफल पार्न लागिपर्नेछन् । नेपालमा चीन र भारतबीच विग्रह अनि बेमेल होइन कि हार्दिकताको बढोत्तरीचाहिँ हुनेछ ।

यसको विश्वासिलो स्वरूप र रोमान्चक व्याख्या गर्दै लेखक साहले ‘द कल्किस्ट मेनिफेस्टो’ तयार पारेका छन् । विश्वका विभिन्न देशमा विभिन्न भाषामा एकै पटक प्रकाशन हुने यो पुस्तक नेपालनिर्मित नयाँ विश्व व्यवस्था कायम गर्ने प्रधान पथप्रदर्शक हुने सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्