Logo

गगन थापाले स्वर्णिम वाग्लेलाई टुरिष्ट उम्मेदवारको संज्ञा दिए, तनहुँ कांग्रेस चौतारीको मादलजस्तो नभएको टिप्पणी



काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई निर्वाचित हुने दाबी गरेका छन् । कांग्रेसले भट्टराईलाई जिताएर पठाउनेमा आफू ढुक्क रहेको थापाको भनाई छ । उनले सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका डा. स्वर्णिम वाग्लेको भने आलोचना गरेका छन् ।

थापाले वाग्लेलाई तनहुँवासीले किन मत हाल्ने भनेर प्रश्न समेत गरे । भट्टराईको उम्मेदवारी दर्ताको लागि तनहुँ पुगेका थापाले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन । यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने । यहाँको कांग्रेसको साथीहरुले बताउनुपर्छ ।’ उनले आफूहरु पनि पार्टीमा दुःख र संघर्ष गरेरै यहाँसम्म आएको बताए ।

थापाले पार्टीभित्र आफूहरु पनि लडिरहेको स्मरण गराए । उनले आफूहरुले कांग्रेसलाई बदल्ने अठोट सुनाए । सम्बोधनको क्रममा थापाले भने, ‘पार्टीमा दुख छ, संघर्ष छ। पार्टीभित्र दुख हामीले पनि गरेर आएका हौं । पार्टीभित्र संघर्ष हामीले पनि गरिरहेका छौं । तनहुँको साथीहरुलाई जति अरु कसलाई थाहा होला। हामी पनि लागिरहेका छौं । कति पुराना नेताहरु हुनुहुन्छ कति नयाँ नेता हुनुहुन्छ पार्टीभित्रको संघर्षबाट खारिएर निकाल्छौं हामी ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot