Logo

कांग्रेस नेतालाई धमलाको प्रश्नः ‘भ्रष्टाचारमा मुछिएका खाँणलाई किन संरक्षण गरेको ?’ (भिडियोसहित)



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री राजन केसीले पार्टी ठीक ढंगबाट अगाडि बढ्न नसकेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्रका लागि आठ दशकभन्दा बढी संघर्ष गरेको कांग्रेस समग्र रुपमा चुकेको बताएका हुन् । कांग्रेस कमजोर हुँदा आम जनतामा चित्त दुखाई बढेको उनको भनाई छ ।

साथै, पार्टीका केन्द्रीय सदस्य रहेका बालकृष्ण खाँणलाई निलम्बन गर्ने सन्दर्भमा पनि पार्टीले छिट्टै निर्णय लिने उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् । उनी कारागार चलाउन हुँदासम्म कांग्रेसले उनलाई निलम्बन नगरेको भनी आम जनमानसमा आलोचना बढिरहेको छ । छिट्टै कार्यसम्पादन समितिको बैठक बसेर निर्णय लिने तयारी रहेको उनको भनाई छ ।

खाँणको सन्दर्भ जोड्दै नेता केसीले भने, ‘पार्टीको मिटिङ बसेको छैन । तत्काल पार्टीले आवश्यक निर्णय गर्छ । समग्र रुपले कांग्रेस चुकेको छ । कांग्रेसले ठीक ढंगले पार्टी लान सकेन । १५ सालमा दुईतिहाई प्राप्त गरेको पार्टी, २०४८ सालमा बहुमत ल्याएको पार्टी, २०५६ सालमा बहुमत ल्याएको पार्टी आज आएर कमजोर भएको छ । त्यसकारण हामी चुकेका छौं ।’

कांग्रेस अब सुध्रिएर जनता केन्द्रीत कार्यक्रमसहित जनतामाझ जान आवश्यक रहेको उनको भनाई छ । कांग्रेसमा रहेका अहिलेका पुस्ताले पनि विपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराई लगायतका नेताले झैं बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

‘कांग्रेसले ठीक ढंगले यो मुलुकलाई ड्राइभ गर्न सकेको भए मलाई लाग्छ आज यो अवस्थामा हुन्थेन होला । अब नेपाली कांग्रेस सुध्रिनु पर्छ, कांग्रेसले अब जनता केन्द्रीत कार्यक्रम लानुपर्छ । जसरी हिजो विपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराई जनताका नेता थिए, आउँदा पुस्ताका नेताहरुले पनि नेपाली कांग्रेसलाई त्यही किसिमबाट बलियो बनाउँदै लानुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्