Logo

राजनीतिक संरक्षणमा राजधानीमा मौलाउँदै गुण्डाराज, सानुभाई भनिने गुण्डा नाईकेबाट कुटिए व्यवसायी (भिडियोसहित)



काठमाडौं, २३ असार । नुवाकोट सूर्यगढी गाँउपालिका वडा न. १ घर भएका राजेन्द्र गुरुङ्ग काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक हुन् । उनले उक्त व्यवसाय सञ्चालन गरेको चार महिनामात्रै भयो । लामो समय वैदेशिक रोजगारमा बसेर नेपालमै केही गर्ने सोचका साथ फर्किएका उनले होटल व्यवसाय सुरु गरेका हुन् ।

क्लब ओम्नियाका सञ्चालक गुरुङ व्यवसाय सञ्चालन गरेको छोटो अवधिमै नेपालमा व्यवसाय गर्न धेरै चुनौति रहेको महशुस भएको बताउँछन् । व्यवसायीले व्यवसाय गर्दा घाटामात्रै नभएर कहिलेकाँही टोले गुण्डाहरुको मुक्का पनि खानुपर्ने उनी बताउँछन् । व्यापारीहरु आफ्नो ग्राहकहरुलाई भगवान ठान्छन् । तर, आएका सबै गेष्ट भगवान नहुने उनको भोगाई छ ।

घटना गत असार १५ गते शुक्रबारको हो । सदाझैं उनी आफ्नो क्लबमा नै थिए । रातको करिब २ बजेको समयमा नुवाकोट ककनी गाँउपालिका वडा नं ५स्थायी घर भएका सानुभाई भनिने युवराज गुरुङ्ग क्लबमा छिर्छन् । उनी यसअघि पनि पटक–पटक क्लबमा ग्याङसहित आउने गरेको सञ्चालक बताउँछन् । यसअघि पनि पटक–पटक सानुभाई भनिने युवराजले क्लबमा खाँदा उठेको बिल तिर्न इन्कार गर्ने गरेको सञ्चालक राजेन्द्र बताउँछन् ।

सानुभाई भनिने युवराजले आफूहरुसँग विभिन्न बहानामा पटक–पटक करिब ५९ लाखभन्दा बढी रकम नगदै लिएको सञ्चालक राजेन्द्रको दाबी छ । विभिन्न बाहनामा पैसा माग्दै आएका सानुभाई भनिने युवराज र क्लब सञ्चालक राजेन्द्रबीच केही समयदेखि राम्रो सम्बन्ध थिएन ।

पैसा फिर्ता नआउने थाहा भएपनि पैसा दिन बाध्य भएको सञ्चालक राजेन्द्र बताउँछन् । यसै क्रममा असार १५ गते सानुभाई भनिने युवराज रातको करिब २ बजे ग्याङसहित क्लबमा प्रवेश गरे । उनीहरुको समूहले क्लबका कर्मचारीसहित सञ्चालक राजेन्द्रसमेतलाई हातपात गरेको प्राप्त सिसिटिभी फुटेजबाट प्रष्ट हुन्छ ।

सानुभाईले क्लबका कर्मचारीहरु शुरेस खड्का, आशिस नगरकोटी र आफूलाई विभिन्न अपशब्द बोली हातपात गरेको सञ्चालक राजेन्द्र बताउँछन् । सानुभाईले व्यवसाय नै बन्द गराइदिने धम्की दिएकोसमेत उनको आरोप छ । उक्त दिन सानुभाईको साथमा आएका १५ जनाभन्दा बढीको समूहले डेढ लाखभन्दा बढी मूल्यको भौतिक संरचना तोडफोड गरेको सञ्चालक राजेन्द्र बताउँछन् । सानुभाईको समूहले आक्रमण गर्दा राजेन्द्रको घाँटीको दाहिनेतर्फ चोटसमेत लागेको छ ।

https://www.facebook.com/100040540304419/videos/1319538045642535

सानुभाई भनिने युवराज गुरुङ यसअघि पनि थुप्रै आपराधिक घटनामा जोडिएका पात्र हुन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगीका रुपमा चिनिएका व्यक्ति हुन् । सानुभाई भनिने गुण्डा नाईके युवराजले २०६७ सालमा नुवाकोट आप्रहका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । उक्त घटनामा गोली लागेर अनिल घाईते भएका थिए ।

उनलाई प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिडिरहेको अवस्थामा २०७२ पुसमा पक्राउसमेत गरेको थियो । त्यसबेला प्रहरीले उनको साथबाट एक राउन्ड गोली लोड गरिएको रिभल्वर (पेस्तोल) बरामद गरेको थियो ।

प्रहरीस्रोतका अनुसार घैंटेको इन्काउन्टरपछि सानुभाईको समूहले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बनाएका थिए ।

त्यसैगरी, नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष मार्ने योजनासहित आक्रमण गरेका थिए । त्यसबेला सुरेश र गुण्डा नाईके सानुभाईबीचको विवाद प्रहरीमा पुगेपनि राजनीतिक दवाबका कारण प्रहरीले उनलाई कारबाही नगरी छाडेको थियो । उनको समूह २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमणमा पनि संलग्न थियो । त्यसैगरी सानुभाईकै समूहले २०७१ सालमा डोलबहादुर घलेको आँखानै गुम्ने गरी आक्रमण गरेको थियो । २०७९ को माघ मा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए । उनलाई त्यहाँका स्थानीयहरुले समाते पनि उनी पेपर स्प्रे छर्किएर भाग्न सफल भएका थिए ।

प्रहरी स्रोतका अनुसार सानुभाई भनिने गुण्डा नाईके युवराजविरुद्ध प्रहरीमा अहिले पनि नौ वटाभन्दा बढी केस दर्ता छ । उनी नेपाली कांग्रेसको संस्थापन नेतृत्व निकट मानिन्छन् । उनी संलग्न विभिन्न अपराधमा छिपाउन कांग्रेस संस्थापन समूहका नेताहरुकै संलग्नता रहेको पनि चर्चा चल्ने गरेको छ ।

लामो समयदेखि विभिन्न अपराधमा संलग्न सानभाई भनिने गुण्डा नाईके युवराजविरुद्ध क्लब ओम्नियाका सञ्चालक राजेन्द्रले प्रहरी वृत्त सोह«खुट्टेमा र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छन् । सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी पर्दा पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् । उनी प्रहरीकै संरक्षणमा रहेको त्यहाँका व्यवसायीहरु बताउँछन् । उनी प्रहरीकै संरक्षणमा रहेको र क्लब ओम्नियाको घटनामा उजुरी परेपछि पनि आफूले सानुभाईलाई सोह«खुट्टे वृत्तमा रहेका केही प्रहरीसँगै देखेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले बताए ।

https://www.facebook.com/100040540304419/videos/1319538045642535



प्रतिक्रिया दिनुहोस्

Screenshot