Logo

चौदण्डीगढी ५ स्थित सिवाई–बेल्हा जोड्ने पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रीसँग माग



काठमाडौं, १४ साउन । उदयपुरका जनप्रतिनिधिसहितको टोलीले चौदण्डीगढी ५ स्थित सिवाई–बेल्हा जोड्ने भाँचिएको पुलको निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग गरेका छन् ।

प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, प्रदेश सभा सदस्य राजन किराँतीसहितको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पुल निर्माणको माग गरेको हो ।

उक्त टोलीले स्थानीय जनप्रतिनिध, कांग्रेस, एमाले, माओवादी, समाजवादी, चौदण्डीगढी नगरपालिकाका सबै वडाअध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन् ।

मन्त्री ज्वालाले ज्ञापनपत्र बुझ्‍दै चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ मा रहेको सिवाई– बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आवश्वासन दिए ।

उनले भने, “चौदण्डीगढी ५ का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भक्तिएको पुलको पुनः निर्माणको काम एक वर्षभित्रै हुन्छ । यसमा चिन्ता नलिन म आग्रह गर्दछु । काम नयाँ शिराबाट सुरू हुन्छ ।”

साथै मन्त्री ज्वालाले उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्‍ने र पुलको भेरिएशन मन्त्रिपरिषदबाट पास गराएर कामलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।

यस्तै सडक विभागको निर्देशक सुशिलबाबु ढकालले उक्त पुलको टेक्निकल समस्‍या सबै पत्ता लगाइ सकिएको बताए । उनले भने, “हामीले पुलको फिल्ड भिजिट नै गरेका थियौं । त्यसको बिम्ब र स्ल्याबसहितको निरीक्षण गरेर रिपोर्ट आइसकेको छ । अब खाली प्रक्रिया र मन्त्रिपरिषदबाट भेरिएशन पास गराएपछि काम सुरू भइहाल्छ ।”

यस्तै भौतिक मन्त्रालयका निमित्त सचिव ई. अर्जुन जङग थापाले आगामी बर्खा सिजनमा चौदण्डीगढी ५ मा रहेको सिवाई–बेल्हा जोड्ने पुल सम्पन्न गर्ने गरी प्रक्रिया सुरू भइसकेको बताए । उनले भने, “हामीले यसबारेमा सडक विभाग र निर्माण कम्पनीसँग बसेर छलफल गरिसकेका छौं । अब खाली मन्त्रिपरिषदबाट पुलको भेरिएशन पास गराउन बाँकी छ । यसपछि निर्माण कम्पनीले काम थाले हुन्छ ।”

यता, चौचण्डीगढी ५ का वडाअध्यक्ष तुलसी ढकालले अब पनि पुन निर्माणमा ढिलाइ भए माइतीघरमा आन्दोलन गर्ने चेतावनी दिए ।
उद्‌घाटन अगाडि नै पुल भाँचिएपछि निराश भएका हामी स्थानीयबासीलाई प्रत्‍येक वर्खामा वार–पार गर्न समस्या हुन्छ । त्यतिमात्र होइन विद्यार्थीहरू स्कुल जान पाउँदैनन् । सिवाई–सुन्दरपुरका स्थानीयहरू यही त्रियुगाको बाढीले बेल्टार बजार जान पाउँदैनन्, उनले भने, “दैनिक जीवन नै असहज हुने तरिकाले भइरहेको यही पुलले हो । अब पनि नबने हामी काठमाडौंमै अनशन बस्ने गरी आएका छौं ।”

चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सिवाई–बेल्हा जोड्‍ने पुल २०६६ सालमा शिलान्यास भई २०७७–०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई–मधेशसँग जोड्ने गर्दछ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ । तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ–जाउ गर्न समस्या भएको छ ।

पुल नबन्दा सर्पदंश लगायतका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन प्रतिनिधिमण्डलले मन्त्रीसँग माग गरेको हो ।

बाढीले क्षति पुगेको पुलमा २५/२५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

यस्तो छ ज्ञापनपत्र



प्रतिक्रिया दिनुहोस्