Logo

नेपाल टेलिकमका एमडी सुनिल पौडेलसँग अख्तियारको बयान जारी, आजै बयान टुँगिए अभियोजन गर्ने तयारी



काठमाडौं, १८ साउन । नेश्नल पेमेन्ट गेटवेको घोटालामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसँग आज पनि बयान लिइरहेको छ । अख्तियारले पौडेलसँग साउन १५ (मंगलबार) देखि बयान लिन सुरु गरेको हो । लगातार तीन दिनदेखि अख्तियारले उनीसँग बयान लिएको हो । आज बयान सकिए अभियोजन दर्ता गर्ने अख्तियारको तयारी छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा सुनिलको नेतृत्वमा भएको नेश्नल पेमेन्ट गेटवे खरिदका सन्दर्भमा अख्तियारले बयान लिएको हो । पौडेलसँगै अख्तियारले उक्त घोटालामा संलग्न अन्य व्यक्तिको बयान लिइसकेको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हालेको मुद्दाको नजिरले नेश्नल पेमेन्ट गेटवेमा सुनिलमाथि भ्रष्टाचार मुद्दा दायर हुने निश्चित देखिन्छ ।

अख्तियारले विकलसहित ९ जनाविरुद्ध सुरक्षण मुद्रणको पूर्वाधार खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको अभियोग लगाएको छ ।

सुनिलको नेतृत्वमा खरिद गरेको नेसनल पेमेन्ट गेटवेमा पनि अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको देखिन्छ । यो विषयमा अख्तियारले सुनिलसँग बयान लिइरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot