काठमाडौं,१० असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको छ । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो ।
कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।
यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो ।
हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।
नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।
यस्तै रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।
त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।
दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।
७।२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए ।
कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।
file photo