काठमाडौं,१० असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली क्रिकेट टिमका अलराउन्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक र अर्धशतक बनाउने क्रिकेटर बनेका छन् ।
यी दुईले यो कीर्तिमान बुधबार चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध बनाएका हुन् ।
कुशल सबैभन्दा छिटो शतक बनाउने र दीपेन्द्र सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने ।
कुशलले मंगोलियाविरुद्ध ३४ बलमै शतक पूरा गरे । यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन ब्याटरले ३५ बलमा शतक बनाएका थिए ।
यस्तै, सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका दीपेन्द्रले मंगोलियाविरुद्ध नौ बलमै ५० रन पूरा गरेका थिए । नेपालले मंगोलियाविरुद्ध ३१४ रनको योगफल खडा गरेको छ ।
यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले बनाएको अहिलेसम्मकै उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाउनु नै ट्वान्टी–२० क्रिकेटको उच्च योगफल थियो ।
मंगोलियाविरुद्ध नेपालका कुशलले ५० बलमा आठ चौका र १२ छक्कासहित १३७ रन बनाए । नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो नै उच्च स्कोर हो । यस्तै, दीपेन्द्रले १० बलमा आठ छक्कासहित ५२ रन बनाए ।
नेपालले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याइरहेको मंगोलियाले १२ ओभरको खेल समाप्त हुँदा ८ विकेट गुमाएर ४० रन बनाएको छ ।