Logo

शंकर धमलाले सञ्चालनमा ल्याए ‘माउण्टेन मुवाथाई एण्ड जिम’



काठमाडौं, १२ असोज । काठमाडौंको बनस्थलीस्थित खरिबोटमा माउण्टेन मुवाथाई एण्ड जिम सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले पानसमा बत्ति बालेर माउण्टेन मुवाथाइको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, सांसद मधुकुमार श्रेष्ठ, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङका मेयर भीम प्रसाद ढुंगाना, नेपाली कांग्रेस धादिङका पूर्व पार्टी सभापति रमेश धमला, पूर्व कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्व सांसद पर्शुराम तामाङ, चर्चित खेलाडी ध्रुबविक्रम मल्ल लगायत सहभागी थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले राज्यले ध्यान दिन नसक्दा खेल क्षेत्र अप्ठेरो अवस्थामा रहेको बताए । राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न खेलकुदको विकास हुन आवश्यक रहेको उनले बताए । मन्त्री बस्नेतले संसारभर नेपालको राष्ट्रिय झन्डा फहराउनका लागि खेलकुद उत्तम विकल्प भएको बताए ।

खेलकुदको माध्यमबाट लुकेर बसेको प्रतिभाको खोजी गर्दै किर्तिमानी खेलाडीको उत्पादनमा राज्यले ध्यान दिन आवश्यक रहेको उनले बताए ।“खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्नेछ । अहिले देशभर खेलकुदका क्रियाकलाप भइरहेका छन् । तर त्यसलाई थप परिस्कृत तरिकाले लैजान आगामी दिनहरुमा खेल क्षेत्रको थप विकास र उत्कृष्ठ खेलाडी उत्पादनमा लाग्न आवश्यक छ,’– मन्त्री बस्नेतले भने ।

माउण्टेन मुवाथाईका सञ्चालक शंकर धमलाले खेललाई मनोरञ्जनका साथै ब्यवसायिक रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए । उनले खेलाडीहरुलाई प्रेरणा जगाउन र देशको लागि अब्बल खेलाडिहरु जन्माउने उदेश्यले यस व्यवसायमा लागेको बताए ।

माउण्टेन मुवाथाईले खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहनका साथै वृत्ति विकासमा योगदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुले राम्रो प्रर्दशन गर्दै आएको उनले स्मरण गरे । उनले माउन्टेन मुवाथाईले खेलाडीलाई हौसलामात्रै नदिई अथक मेहेनत र परिश्रमको अनुभूति गराउने पनि बताए ।

उद्घाटन समारोहमा कल्चर अफ मुवाथाई डान्ससहित तीन वटा सो फाइट पनि भएको थियो । उद्घाटन समारोहमा रजिना विष्ट (काठमाडौं) भर्सेज सारिका धमला (धादिङ), अनिश रेग्मी (कास्की) भर्सेज प्याराजंग ठकुरी (बझाङ) र मिलन तामाङ (धादिङ) भर्सेज राज गुरुङ (लमजुङ) बीच सो फाइट भएको थियो ।



प्रतिक्रिया दिनुहोस्