Logo

प्रधानमन्त्री प्रचण्डले अहिलेका मन्त्रीहरुको टिम राखेर जनतालाई सुशासन दिन नसक्ने उपेन्द्र यादवको ठोकुवा (भिडिओसहित)



काठमाडौं, १३ पुष । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार एक वर्षसम्म नहल्लिकन निर्वाध रुपमा चल्न सक्नु नै एउटा ठूलो उपलब्धि भएको बताएका छन् । उनले भने,‘अहिलेको जस्तो अस्थिर राजनीति दौरानमा एक वर्ष सरकार टिकाएर मुलुकलाई स्थिरता दिनुपनि ठूलै उपलब्धि मान्नुपर्छ । अहिलेको सरकारले यसअघिका सरकारले गरेका नियमित कार्यलाई पनि निरन्तरता दिएको छ । अब सरकारको दोस्रो वर्ष सुरु भएको छ । अब यो वर्ष काम गरेर देखाउने हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब प्रधानमन्त्री प्रचण्डको काम गर्ने बेला आएको सुनाए । उनले अहिले नेपालमा शिक्षा, स्वास्थ्य, उद्योग र कृषि क्षेत्र ध्वस्त भएको भन्दै यी क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो कार्यशैली सुधार गर्छु भन्नु एकदमै सकारात्मक कुरा भएको पनि यादवको भनाई छ । उनले सरकारको सफलताबारे प्रसंग उल्लेख गर्दै खेलमा क्याप्टेनमात्र बलियो भएर नहुने भन्दै सबै खेलाडी पनि बलियो हुनुपर्नेमा जोड दिए । उनले भने,‘खेलको कुरा गर्दापनि क्याप्टेन मात्र बलियो भएर हुँदैन, खेलाडी पनि दक्ष हुनुपर्छ । उहाँले अहिले जुन टिम पाउनुभएको छ, समष्टिगत रुपमा अहिलेको टिमले अहिले मुलुकसामू देखापरेका आर्थिक र राजनीतिक संकट छन्, त्यसलाई हल गरेर अगाडि बढाउन सक्ने, या भनौं न गोल गर्ने, जनतालाई सुशासन दिने, विकासको गतिलाई तिव्रताका साथ अघि बढाउने क्षमतावान टिम निर्माण त गर्नुपर्यो नि उहाँले ।’

उसो भए प्रधानमन्त्री प्रचण्डले बनाउनुभएको टिम सक्षम भएन ? भन्ने तपाईंको निश्कर्ष हो ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने–‘होईन, सक्षम भएनन भनेर म भन्दिनँ, सकेनन् । गरेनन् । त्यो टिमले गर्न सकेन, या गर्न चाहेन । त्यही टिमले भविष्यमा के गर्ला भनेर प्रधानमन्त्रीमा चिन्ता हुनु स्वभाविक हो । उहाँले म आफ्नो टिम बदल्छु भन्ने कुरालाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’ उनले अहिले प्रधानमन्त्री दाहालले अहिलेका मन्त्रीहरुको टिमलाई यथावत राखेर अहिलेका यत्रो चूनौति सामना गर्न र जनतालाई सुशासन दिने स्थिति आफूले नदेखेको आवश्यकत्ता औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot