Logo

१७ हजार कुनै मजाकको अंक हैन (कविता)



१७ हजार
कुनै मजाकको अंक हैन ।
१७ हजार
कुनै दाउपेचको अंक हैन ।
१७ हजार
यो चिसो याममा,
तातो हिटर ताप्दै,
घरीघरी रेला जसरी
फलाक्ने सामान्य अंक हैन ।
नदेखी
यो १७ हजारमध्येको कुनै एक अनुहार ।
नपढी
यो १७ हजारमध्येको कुनै एक कथा ।
१७ हजार
हलुका मानेर,
घरीघरी जिस्काउने
कुनै खिसी गर्ने अंक हैन ।
१७ हजारको हरेक १ कयौं मनहरुको
हृदय नजिकको एउटा दुख्ने पाटो हो ।
१७ हजारलाई र १७ हजारका आफ्नाहरुलाई
खिसी गर्दै,
घरीघरी यो अंक नसम्झाउ ।
हामीलाई राम्रोसँग थाहा छ ।
यो १७ हजारको दाउपेचमा,
तिमीले गर्न खोजेको राजनीति ।
र यो पनि राम्रोसँग थाहा छ,
यो १७ हजार दुख्नुमा
तिमीले पनि खेलेको आफ्नो भागको भूमिका !

(अधिवक्ता प्रतीक कार्की सहिद परिवार हुन् । जनयुद्दका क्रममा उनले बुबाआमा गुमाएका थिए ।)



प्रतिक्रिया दिनुहोस्