काठमाडौं, १९ पुष । नेकपा (एमाले) लाई पनि राष्ट्रियसभाको निर्वाचनमा समेट्नेगरि प्रधानमन्त्री पुष्पकमल दाहालले थालेको प्रयासले सार्थकता पाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच राष्ट्रियसभामा सहकार्य गर्ने छलफल भएको थियो ।
आगामी माघ ११ गते १९ सिटको लागि हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि साथमै लिएर जाने दाहालको प्रस्ताव थियो । उक्त प्रस्तावबारे सत्ता गठबन्धनमा पनि छलफल भएको थियो । खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेलाई पनि साथमै लिएर जाँदा राम्रो हुने पक्षमा छन् ।
तर, माधव नेपाल र उपेन्द्र यादव भने रुष्ट बनेको चर्चा छ । मंगलबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच झण्डै एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । सो भेटवार्तामा दुई नेताबीच वामपन्थी एकताबारे पनि छलफल भएको बताईएको छ । राष्ट्रियसभाको निर्वाचनमा एमालेले भने कम्तिमा पनि ६ सिट दिनुपर्ने माग गरेको छ । त्यसमा दाहालले आफू सकारात्मक रहेको जवाफ ओलीलाई दिएका छन् ।
दाहालले टिआरसी विद्येयक टुँगो लगाउनको लागि एमालेको साथ खोजेका छन् । यसअघि संसदीय समितिमा पनि एमालेलाई महत्वपूर्ण तीन समितिको सभापति दिएका थिए । यता, राष्ट्रियसभामा एमाले अध्यक्ष ओलीले भनेजति नै सिट दिन आफू तयार भएको कुरा प्रचण्डले पार्टीका नेताहरुलाई ब्रिफ गरेका छन् ।
तर, गठबन्धनको मुख्य घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने दाहाल र ओलीको सहकार्यको प्रयासले असन्तुष्ट बनेका छन् । उनको दलका नेताहरुले ओलीको प्रस्ताव कुन ढंगले आएको हो भनेर बुझ्नुपर्ने टिप्पणी गरिरहेका छन्।