Logo

राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बालुवाटारमा माओवादी नेताहरुको निश्कर्ष



काठमाडौं, १२ माघ । सत्ता गठबन्धनमा नै हलचल ल्याउनेगरि राष्ट्रियसभाको निर्वाचनमा कोशीमा महिलातर्फ एमालेकी उम्मेद्वार रुक्मिणी कोइराला निर्वाचित भएपछि केन्द्रीय राजनीतिमा पनि पहिरो जाने संकेत देखिएको छ । कांग्रेसबाट आफूहरुलाई पटक पटक धोका भएको भन्दै माओवादीको सिंगो कोशी प्रदेश कमिटी रुष्ट छ ।

उनीहरुले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिइरहेका छन् । खासगरी राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनकी साझा उम्मेद्वार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित हुनुमा कांग्रेसका शेखर कोइराला समूहले एमालेकी कोइरालालाई मतदान गर्नु हो । धेरैको ध्यान सत्ता गठबन्धनका अर्का उम्मेद्वार कृष्ण सिटौलातर्फ थियो ।

सिटौलालाई जिताउनको लागि कांग्रेसको जम्बो टिम नै विराटनगर उत्रिएको थियो । सिटौलाले जित हाँसिल गरेर राष्ट्रियसभाको अध्यक्षको कुर्सी सुरक्षित गर्दा माओवादीमा भने कांग्रेसले धोका दिएकोले सहकार्य तोड्नुपर्नेबारे छलफल भएको छ । माओवादीले अब राष्ट्रियसभाको अध्यक्ष सिटौलालाई नछोड्ने अडान लिने भएको छ ।

आज विहान बालुवाटारमा भेला भएका माओवादी नेताहरुले अब कुनैपनि हालतमा राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिन नहुने लविङ थालेका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आफूहरुलाई कोशीमा कांग्रेसको नेतृत्बाट गम्भीर धोका भएको भन्दै राष्ट्रियसभाको अध्यक्ष दिन नसकिने धारणा राखेको बालुवाटारनिकट उच्च स्रोतले जनाएको छ ।

कोशीको पछिल्लो राजनीतिक घट्नालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा पनि रुष्ट छन् । शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्री बन्दा एमालेले गुण लगाएको भन्दै शेखरले अहिले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई गुण तिरेका छन् । तर, सभापति देउवा भने शेखरको गतिविधिलाई लिएर फायर छन् ।

उनले आफूनिकट नेताहरुको बैठक राखेर शेखर समूहको गतिविधिलाई यसरी नै छुट दिन नसकिनेबारे निश्कर्ष निकाल्ने र पार्टी हितविपरित कदम चाल्नेलाई कडा कारबाही गर्ने तयारी थालेका छन् । शेखरले भने प्रधानमन्त्री प्रचण्ड र उनले नेतृत्वको गरेको सरकारको औचित्यमाथि नै प्रश्न उठाउन थालेका छन् । उनले तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्