Logo

राष्ट्रपति निर्वाचनमा टुटेको एमाले–माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जोडिने !



काठमाडौं,१२ माघ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाका १९ सिटमा बिहीबार निर्वाचन सम्पन्न भएको छ । बिहीबार भएको निर्वाचनमा १९ सिटमध्ये सत्ता गठबन्धनका १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १ जना उम्मेदवार विजयी बनेका छन् ।

सातै प्रदेशमा साझा उम्मेदवार उठाएर मैदानमा उत्रिएको सत्ता गठबन्धनले कोशी प्रदेशको महिलातर्फ भने अप्रत्याशीत पराजय ब्यहोरेको छ । प्रदेशमा महिलातर्फकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ चम्पादेवी कार्कीलाई पराजित गर्दै नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् ।

उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। प्रतिस्पर्धी माओवादीकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाइन्। प्रष्ट बहुमत हुँदा पनि सत्ता गठबन्धनले कोशीमा हार भोगेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गर्दा कार्कीले पराजय व्यहोर्नु पर्यो।

स्थानीय तहमा सत्ता गठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा तीन जना सांसदले ‘फ्लोर क्रस’ गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाले तालमेल गरेका थिए। एमालेका उम्मेदवार विजयी भए पनि राप्रपाका उम्मेदवार भने पराजित हुन पुगे।

राष्ट्रिय सभाका १९ सिटमा निर्वाचन भएको हो। जसमा नेपाली कांग्रेसका १०, माओवादी ५, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीका एक उम्मेदवार विजयी भएका छन् । माओवादीले एक सिट गुमाउँदा एमालेले एक सिट जितेको हो।

सत्ता गठबन्धनले सातै प्रदेशमा आफ्ना साझा उम्मेदवार विजयी गराउन संयुक्तरुपमा अपीलसमेत जारी गरेको थियो । तर, गठबन्धन दलले गरेको निर्णय र दिएको निर्देशनको अवज्ञा गर्दै सत्ता साझेदार दल नेपाली कांग्रेसका ठूलै संख्यामा मतदाताले विपक्षी उम्मेदवार कोइरालालाई मत दिएपछि भने सत्ता साझेदार दलबीचको सम्बन्धमा दरार आउने संकेत देखिएको छ ।

कोशीमा खुल्लातर्फ सत्ता गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा महिलातर्फ आफूहरुको उम्मेदवार पराजित भएको भन्दै माओवादी केन्द्र आक्रोशीत बनेको छ । कोशी प्रदेश माओवादी केन्द्रका अध्यक्ष हर्कबहादुर नेम्वाङले पटक पटक कांग्रेसले धोका दिएको भन्दै सत्ता सहकार्य तोड्ने चेतावनी दिएका छन् । उनले यस विषयमा पार्टीमा निर्ममढंगबाट समीक्षा हुनुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष जोडदार रुपमा कुरा उठाउने बताएका छन् ।

बिहीबारको निर्वाचन परीणामबाट झस्किएको माओवादी र संयमित बनेको नेपाली कांग्रेस अब कसरी अगाडि बढ्छ । सत्ता गठबन्धनको भविष्य के हुन्छ त्यो विस्तारै खुल्दै जाने विषय हो तर, बिहीबारको परीणामले प्रधानमन्त्री प्रचण्ड स्वयं सत्ता साझेदार दल नेपाली कांग्रेससँग झस्किएका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसले पटक-पटक धोका दिएको भन्दै कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसँग मिल्नेगरी अगाडि बढ्न चाहेका छन् ।

माओवादी केन्द्र निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग निरन्तर संवाद गरिरहेका छन् । पार्टीका दोस्रो तहका नेतामार्फत प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग छलफल गर्ने जिम्मा दिएका छन् । माओवादी केन्द्रमा पनि पछिल्लो समय वामपन्थी दलबीच सकेसम्म पार्टी एकता र नभएपनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने मत बलियो बन्दै गएको छ । माओवादीमा प्रचण्डपछि शक्तिशाली मानिने नेताद्धय जनादर्न शर्मा र वर्षमान पुन नै पछिल्लो समय एमालेसँग मिल्नुपर्ने पक्षमा पुगेपछि प्रचण्ड दवावमा परेको स्रोतको दाबी छ ।

होला त एमाले-माओवादी सहकार्य ?

त्यसो त २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनको सम्मुखमा तत्कालीन प्रधानमन्त्री शेरबहादर देउवासँगको सत्ता सहकार्य तोडेर नेकपा माओवादी केन्द्रले एमालेसँग मिलेर चुनाव लडेको थियो भने चुनावपछि दुवै पार्टी एकता गरेर नेकपा बनेको थियो । पार्टी एकताको दुई वर्ष राम्रैसँग चलेपनि तत्कालीन अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीको पदीय लुलुप्ता र घमण्डले पार्टी एकता लामो समय टिक्न सकेन् र नेकपा विभाजन भयो । नेकपाको एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि एमाले र माओवादी आ-आफ्नै अवस्थामा फर्किएका थिए ।

पार्टी विभाजनपछिका साँढे दुई वर्ष एकअर्काको मुखसमेत हेर्न नरुचाएका आोली र प्रचण्ड गत वर्ष मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि एकाएक नजिक भए । एमालेकै समर्थनमा गत पुस १० मा प्रचण्ड मुलुकको प्रधानमन्त्री बने । तर, एमाले माओवादीको सहकार्य लामो समय टिक्न सकेन् । प्रधानमन्त्री चयनका बेला बनेको एमाले माओवादी गठबन्धन राष्ट्रपति निर्वाचनमा टुट्यो ।

तत्कालीन अवस्थामा प्रधानमन्त्री र उपराष्ट्रपति माओवादीले लिने राष्ट्रपति र सभामुख एमालेले लिने सहमतिलाई माओवादी केन्द्रले पालना गरेन । एमालेको हातबाट सत्ता र राष्ट्रपति दुवै गुम्यो भने माओवादीले सत्ता जोगाएपनि उपराष्ट्रपति जोगाउन सकेन ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसँग मिलेर एमालेलाई धोका दिएको भन्दै प्रचण्ड र माओवादीसँग एमाले नेताहरु रुष्ट बनेका थिए । एमालेले प्रचण्डले धोका दिएको आरोप लगाएपनि प्रधानमन्त्री प्रचण्डले भने एमालेलाई विभिन्न अवसरमा सदासयता नै देखाउँदै आएका छन् ।

प्रतिनिधि सभामा रहेका संसदीय समितिका सभापति चयन गर्नेबेला पनि प्रचण्डले नै सदासयता देखाउँदै एमालेलाई तीन समितिको नेतृत्व दिलाएका थिए भने सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्दासमेत एमालेलाई समेटेका छन् । यता एमाले नेताहरु पनि पछिल्लो समय माओवादी पार्टी र प्रधानमन्त्रीसँग नरम देखिँदै आएका छन् ।

बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा पनि प्रचण्ड एमालेलाई समेटेर जाने पक्षमा थिए । तर, एमालेले सत्ता गठबन्धनसँग ६ सिट दावी गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले नमानेपछि प्रचण्डको प्रयासले सार्थकर्ता पाउन सकेन । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य सम्भव नभएपनि एमाले र माओवादीबीच आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी बनेको स्रोतको दाबी छ ।

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा गत साता युगाण्डा जानुअघि पनि प्रधानमन्त्री प्रचण्डले एमालेसँग निर्णायक छलफल गर्न पार्टीबाट आफ्ना विशेष दूत खटाएको स्रोतको दाबी छ । एमाले र माओवादी दुवै दलमा यसअघिका गल्ती र कमिकमजोरी भुलेर पुनः नयाँ शिराबाट सत्ता सहकार्य अगाडि बढाउनुपर्ने आवाज बलियो बनेको छ ।

प्रधानमन्त्री प्रचण्ड युडाण्डा भ्रमणबाट फर्किएकै भोलिपल्ट पनि एमाले नेता र प्रचण्डबीच सिंहदरबारमा लामो छलफल भएको थियो । एमालेले मंसिरमा गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा समेटिएको सुझाव बुझाउन सिंहदरबार पुगेका एमाले अध्यक्ष ओलीसँग् प्रचण्डले करिब १ घण्टा गोप्य वार्ता गरेको स्रोतको दाबी छ । उक्त वार्तामा यसअघिका घटनालाई निर्मम ढंगले समीक्षा गरेर पार्टी एकता नै गर्नेसम्मको छलफल भएको बताइएको छ ।

यता राष्ट्रिय सभा निर्वाचन सम्पन्न भईसकेपछि राष्ट्रिय सभाको नयाँ अध्यक्षलाई लिएर सत्ता गठबन्धनमा दावी सुरु भएको छ । आगामी फागुन २० गतेबाट हालका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदा हुँदैछन् । उनी अध्यक्षबाट बिदा भएसँगै नयाँ अध्यक्ष चयन गर्नुपर्ने हुन्छ । हालसम्म अध्यक्षका लागि माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गर्दै आएका छन् । कांग्रेसबाट राष्ट्रिय सभामा अध्यक्ष बन्नकै लागि कृष्ण सिटौला राष्ट्रिय सभामा गएको देखिन्छ भने माओवादीले पनि आफ्नो दाबी शसक्त बनाउँदै लगेको छ ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो दाबी नछाडे एमालेसँग मिलेर आफ्नो दललाई जिताउने रणनीति माओवादीले बनाएको स्रोतको दाबी छ । यदि त्यस्तो भएको खण्डमा राष्ट्रपति निर्वाचनमा टुटेको एमाले माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जोडिने देखिन्छ । file photo



प्रतिक्रिया दिनुहोस्