काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कांग्रेसले आफूहरुमाथि एकपछि अर्को घात गर्दै आएको बताएका छन् । आज (शनिबार) गृह जिल्ला रोल्पामा पार्टीका जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै उपमहासचिव पुनले एकपछि अर्को घात भइरहेको अवस्थामा आफूहरु कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्ने मोडमा पुगेको बताएका हुन् । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा माओवादी नेतृ चम्पा कार्कीले हार्नुमा कांग्रेसका नेताहरु दोषी रहेका बताए । अब कांग्रेसले आफूहरुको विश्वास गुमाएको उनले बताए ।
हरेक पटकका गठबन्धन र निर्वाचनमा कांग्रेसप्रति माओवादीहरु इमानदार बनेपनि कांग्रेसले बेइमानी गर्ने गरेको उनले बताए । उपमहासचिव पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको बताए ।
‘कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं । कांग्रेससँगको गठबन्धनले राजनीतिक रूपमा हामीलाई घाटा या नाफा के छ । हामी हरेक चुनावमा इमान्दारपूर्वक कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’ उनले भने ।
दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण राउँदै यसअघि कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेपनि अब आफूहरुलाई त्यस्तो जवाफले मात्रै नहुने बताए । File Photo/RN