Logo

कोशी प्रदेशबाट सत्ता गठबन्धनमा अविश्वासको विजारोपण भयो : राजकिशोर यादव



संविधान परिमार्जनको लागि तत्काल पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्छ : यादव

काठमाडौं, १३ माघ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशको नतिजाको कारण सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । उनले भने,‘अहिलेको गठबन्धन मुलुकमा देखापरेका समस्या समाधान गर्नेगरि निर्माण भएको हाृ । कोशीको राष्ट्रियसभाको निर्वाचनमा जुनप्रकारको समस्या देखियो, त्यही समस्याको कारण गठबन्धन टुट्छ भन्ने चर्चा छ । यसले गठबन्धनमा खासै असर पार्दैन् । तर, यसले एउटा विमर्शको आवश्यकत्ता महशुस गराएको छ । के÷कति कारणले त्यहाँ दुर्घटना भयो ? सम्बन्धित दलका नेतृत्वले समयमै समाधान गर्नुपर्छ ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै यादवले केन्द्रीय नेताहरुको तहमा भएको सहमति पालना नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘यसले गठबन्धनभित्र आपसमा अविश्वास पैदा गर्छ । अर्को भनेको वैचारिक र सैद्धान्तिक रूपमा भ्रष्टीकरण ल्याउँछ । नेतृत्व तहमा एकप्रकारको सहमति भैसकेपछि त्यसलाई इमानदारीपूर्वककार्यान्वयन गर्नुपर्दथ्यो । तर, विचलन देखियो । दीर्घकालिन रुपमा असर गर्छ । त्यहाँबाट अविश्वासको विजारोपण भएको छ । यसलाई समयमै सबै मिलेर समाधान गर्नुपर्छ । गठबन्धनको स्वास्थ्यको लागि राम्रो हुँदैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले राष्ट्रियसभाको अध्यक्षको लागि गठबन्धनभित्र भएको सहमति पालना हुने विश्वास दिलाए । उनले भने,‘अहिले राष्टियसभाको अध्यक्ष को हुने भनेर बहस भएको छ । मलाई लाग्छ–गठबन्धनभित्र जे सहमति भएको छ, त्यो इमानदारपूवर्क लागु हुन्छ । हाम्रो दलबाट दाबी छैन् । सहमतिले यो महत्वपूर्ण जिम्मेवारी दिने कुरा हो । अब कसले जिम्मेवारी वहन गर्नसक्छ त्यो हेर्नुपर्छ ।’

उनले अहिले गठबन्धनको सरकार हुँदापनि मुलुक जुन गतिमा अघि बढनुपर्ने हो त्यसरी बढ्न नसकेको स्विकारे । उनले भने,‘मुलुक अहिले सकारात्मक दिशामा जानुपर्दथ्यो । जति काम हुनुपर्ने थियो, त्यति काम भएको छैन् । आज जनतामा निराशा छ । असन्तुष्टि व्याप्त छ । सरकारप्रति ठूलो अविश्वास छ । पार्टी र नेतृत्वप्रति जनमानसमा एकप्रकारको आक्रोश छ । जनताको आक्रोशलाई समयमै सम्बोधन गरिएन भने दुर्घट्ना हुनसक्छ । दलहरुबाट खाली सरकार बनाउने र भत्काउने काममात्रै भयो भने दुर्घटना हुन्छ ।’

यादवले अहिलेको राष्ट्रिय राजनीति संकटको डिलमा रहेको भन्दै त्यसबाट पार लगाउनको लागि सबै जिम्मेवार हुनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘हिजो नेतृत्व गरेर जिम्मेवार पदमा बसे, राजनीति गरे, आज तिनीहरु नै आफ्नो सन्तान अर्को देशमा जन्माउन गएका छन् । अमेरिका र युरोप गएर बच्चा जन्माउने काम भएको छ, यो अनिष्टको संकेत हो । सबै मिलेर राष्ट्रका सामू भएका चूनौति सामना गर्नुपर्छ ।’

यादवले अहिलेको संविधानलाई परिमार्जन, परिवर्तन र पूनर्लेखन गर्न पूर्व प्रधानन्यायाधीशसहित संविधानविद्हरुको सहभागितामा बलियो आयोग गठन गर्नुपर्ने माग गरे । उनले भने,‘संविधान परिमार्जन गर्न ढिलो गर्नुहुँदैन् । संविधानमा समस्या छ ।’

उनले नेपाल र भारतको सम्बन्ध युनिक र ऐतिहासिक रहेको बताए । उनले भने,‘नेपाल र भारतको सम्बन्ध जतिसुकै वर्णन गरेपनि कम हुन्छ । यो सम्बन्ध युनिक र ऐतिहासिक अनि बहुआयामिक छ । अब नेपालले फाईदा लिनेगरि रणनीति बनाउनुपर्छ । भारतको तिव्र आर्थिक वृद्धि भैरहेको छ, त्यसबाट नेपालले लाभ लिन सक्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्